१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लेस्टर सिटी नकआउट चरणमा

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७३, बुधबार ०२:१५

लन्डन । इङ्लिस क्लब लेष्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूहको पाँचौं चरणको खेलमा बेल्जियमको क्लब ब्रुजलाई २–१ ले हराउँदै लेस्टर सिटी नकआउट चरणमा पुगेको हो ।

खेलमा लेस्टर सिटीलाई विजयी गराउन रियाद माहारेज र ओकाजाकीले एक–एक गोल गरे । उता अर्को इङ्लिस क्लब टोटनह्याम हट्सपर भने समुह चरणबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा फ्रान्सको मोनाकोसँग २–१ ले पराजित भएपछि टोटनह्याम एक खेल खेल्न बाँकी छँदै समूहबाट बाहिरिने निश्चित भएको हो । यही समुहको अर्को खेलमा रुसको सिएसकेए मस्को र जर्मनीको बायर लिभरकुजेनले १–१ गोलको बराबरी खेलेका छन् ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले पोल्याण्डको लेजिया वार्सलाई ८–४ को फराकिलो गोलअन्तरमा हराएको छ । यही समुहको अर्को खेलमा स्पेनको रियाल मड्रिडले पोर्चुगलको स्पोर्टिङलाई २–१ ले हराएको छ ।

गएराति भएका अन्य खेलमा ईटालीको युभेन्टसले स्पेनको सेभियालाई ३–१ ले हराउँदा फ्रान्सको लियोले क्रोएसियाको डाईनामो जाग्रेबलाई १–० ले पराजित गर्‍यो । डेनमार्कको एफसी कोपनहेगन र पोर्चुगलको एफसी पोर्टोले गोलरहित बराबरी खेलेका छन् ।