११ बैशाख २०८१, मंगलवार
Follow Us

के विदेशमा श्रम गर्ने सबै गुलाम हुन् ?

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७३, शनिबार २३:१०

आजभोलि प्रवासमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सोसल मिडियादेखि राजनीतिक वृत्तमा अनेकथरी नकारात्मक टिप्पणीहरू हुने गरेका छन् । विदेशमा श्रम गर्नुलाई गुलामीका रूपमा केहीले व्याख्या गरेको हामी भेट्छौं ।

हामी नेपालीहरु धेरै पहिलेदेखि देशबाहिर काम गर्दै आएका छौं! हामीमात्र होइन, अन्य देशका मानिस पनि आफूलाई जता बढी र आकर्षक अवसर प्राप्त हुन्छ उतै काम गर्दै आएका छन् । यो नयाँ चलन होइन, युगौं देखि चल्दै आएको चलन हो !

अरबलाई अरबकै अल्छी मानिसले अहिलेको स्वर्ग बनाएका होइनन्, धन त त्यो देशको हो, तेल बेचेर आएको तर शिप सबै विदेशीको हो ! व्यापारका अतिरिक्त मानिस आफ्नो देश बाहिर कुनै शिप लिएर जान्छ वा शिप सिक्न पनि जान्छ! अमेरिकाका मानिस बेलायत मा काम गर्छन्, फिलिपिन्सका नर्स बेलायतका अस्पतालमा काम गर्छन्, भारतका डाक्टर बेलायतका असपतालमा काम गर्छन्, बेलायतका मेरा साथीहरु फेरि गुडगाउँ/दिल्ली मा काम गर्छन् । बेलायतका शिक्षक अरब र चिनमा पढाउन जान्छन्, युरोपका पनि त्यसै गर्छन् अमेरिका र अन्य देशमा! कतिले पछि बसाईं नै सर्छन् ! बेलायतका लाखौँ बुढाबुढी फ्रान्स, पोर्चुगल र स्पेनमा पेन्सन पाकेपछि सर्छन् भने स्पेन र पोर्तुगलका युवा नै सकेसम्म बेलायत छिरेर सदाको लागि त्यहीं बस्न प्रयास गर्छन! हामीले मरिहत्ते गरेर हेर्ने English, Spanish, German, Italian फूटबल League मा कहाँका खेलाडी खेल्छन् तपाइँहरुलाइ थाहै होला । England को टिममा दक्षिण अमेरिकाका खेल्छन, रोनाल्डो म्यानचेस्टर युनाइटेडमा खेल्थे, बेलायतका काउन्टी क्रिकेट मा भारतीयहरु खेल्छन । लन्डनका बैंकमा स्विजरल्याण्डका ब्याङ्कर काम गर्छन, म आफै नेपालको मान्छेले जर्मनी, जापान र स्विजरल्याण्डका बैंकमा काम गरेको छु । स्कटल्याण्डका कन्सल्टेन्ट गएर डुब्न लागेको नेपाल बैंक लिमिटेड मा काम गरे!नेपालमैं पनि कैयौ भारतीयहरू कपाल काट्नेदेखि निर्माण व्यवसायमा मजदूरी गर्छन् भने थुप्रै नेपाली भारतमा रेस्टुरांदेखि सिक्युरिटीसम्म काम गर्छन् ।

निचोड के हो भने आफ्नो यौवन र जाँगर विदेशमा खर्चिने नेपालीमात्र छैनन्, संसारभरिका मानिस छन् । तसर्थ नेपालीले आफ्नो यौवन विदेशमा सुम्प्यो भन्दैमा उसले गुलामी गरेको भन्न भएन, उ आफ्नो शिपको बढी मूल्य हुने ठाउँ मा पुगेको स्विकार्न पर्यो । सिप भएर पनि देशमैं बेरोजगार भएर बस्नुभन्दा बाहिर गएर सिपको प्रयोग गर्नु नराम्रो होइन । सिप भएर पनि बेरोजगार बस्दैमा देशलाई कुनै फाइदा हुने पनि होइन । दुर्भाग्य, धेरै पहीलेदेखि नै विद्यालयको पाठ्यक्रम र समाजले अनावश्यक रुपले अन्ध देशभक्त बनायो, देश बाहिर आफ्नो औकात अनुसारको काम गर्नुलाइ देश नछाड्ने हरु ले “गुलामी/Slavery” भन्न थाले, उनीहरुले अमेरिका, बेलायतका मानिस अन्यत्र गएर काम गरेको कहिल्यै पढेनन, फ्रान्स को फ्रेन्च फरेन लिजन मा संसारको जुनसुकै देशको मान्छे भर्ति हुनसक्छ भन्ने कुरो थाहा भएन उनी हरु लाइ!
वास्तवमा आ-आफ्नो शिप र औकातको जहाँ बढी मूल्य पाइन्छ त्यहाँ काम गर्नु गुलामी होइन! अनावश्यक देशभक्तिको कुरा गर्ने मानिस प्राय नेता हुन्छ तर उसले नै देशको बागडोर सम्हालेपछि देशको मतलव नराख्न सक्छ । जस्तै अहिले हाम्रा नेताहरु नै विदेशीको इशारामा चलेको देखिएको छ! जब देश चलाउने मान्छे नै यसरी देशद्रोही बनेर विदेशीको इशारामा चल्छ भने उसैले वा उसैका भक्तहरुले विदेशमा आफ्नो शिप अनुसारको काम गर्न जानेलाई गुलामी गर्न गयो भन्नु हाँस्यास्पद हुन्छ । शायद साधारण जीविकोपार्जन गर्ने, आफ्नै पसिनामा रमाउने र राजनीति नगर्नेले यस्तो शब्द प्रयोग नगर्ला!

हरेक देशमा सबैलाई सबैले चाहे जस्तो पेशा मिल्दैन, त्यसैले उनी हरु अन्य देशमा गएर भए पनि आफ्नो जीवनस्तर विकास गर्न चाहन्छन! हरेक मानिसलाई आफू र आफ्नो परिवारको जीवनस्तर बढाउन रहर हुन्छ! यदि तपाईं पनि विदेशमा काम गर्नु हुन्छ भने र त्यसलाई कसैले गुलामी गरेको भन्छ भने त्यस्ता ब्यक्तीको चेतना शून्य प्राय हुन सक्छ, त्यस्ता संग वहस गरिराख्नु जरुरि छैन! त्यस्तो ब्यक्ती लाइ पुर्खाले टन्न जोडेर राखिदिएका हुन सक्छन, कि उसले भ्रष्टाचार गरेर खाएको हुन पर्छ, नत्र आफ्नो पसिना काढेर खाने मान्छेले कहिल्यै त्यस्ता क्षुद्र शव्दको प्रयोग गर्दैन!

तपाईं देश वा विदेशमा जहाँ काम गरेको भए पनि गर्व साथ गर्नु होस्, अरुले के भन्छ संग चिन्ता नगर्नुस, अरुले भन्दा तपाईं ले ब्यबसाय लाइ बढी फाइदा दिने [value for money] हुनाले नै तपाईं लाइ त्यहाँ काम दिइएको हो, नत्र अर्कैलाई दिइन्थ्यो!