८ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना पीडितको सहयोगार्थ एनआरएनए पूर्वअध्यक्षहरुको सक्रियता

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७७, शुक्रबार १३:५९

लन्डन । कोरोना भाइरस (कोभिड–१९) को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरु एक जुट भएका छन् ।
गैरआवासीय नेपाली संघको शुक्रबार बिहान सम्पन्न पदाधिकारी तथा पूर्वअध्यक्षहरुको बैठकमा बोल्ने बक्ताहरुले कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरियो ।
बैठकमा अध्यक्ष पन्तले कोरोना पिडित र नेपाल फर्किन चाहने नेपालीहरुका सम्वन्धमा पूर्वअध्यक्षसँग परामर्श गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल फर्केर आउने नेपालीलाई देशमा समायोजन गर्न आर्थिक रुपमा पनि तयार हुनुपर्नेमा जोड दिए । उनले कोरोना संक्रमणको महामारीबाट प्रभावितका लागि सहयोगार्थ आर्थिक संकलन गरेर दीर्घकालीन कोष स्थापना गर्न सुझाव दिए ।

बैठकमा पूर्वअध्यक्ष देवमान हिराचनले लकडाउनका कारण नेपालमा हजारौं नेपालीले जनताले दुःख पाएको बताउँदै संघले नेपाल सरकारको ध्यानकर्षण गराउनु पर्ने विचार व्यक्त गरे । उनले लकडाउनका कारण कृषी उत्पादनले बजार नपाउँदा कृषकले आर्थिक क्षेती व्यहोर्नु परेको बताए ।

विदेशमा रहेका नेपालीका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघले थप सक्रियता देखाउनुपर्नेमा पूर्वअध्यक्ष जीवा लामिछानेले जोड थियो । पूर्वअध्यक्ष लामिछाने कोरोना संक्रमणको महामारीका कारण विश्वबजारमा आर्थिक मन्दी आउन सक्ने भन्दै लाखौं नेपाली बेरोजगार हुने सक्नेतर्फ सचेत गराए । उनले संघलाई अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्न सुझाव दिए ।
निवर्तमान अध्यक्ष भवन भट्टले कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण पीडित नेपाली समुदायप्रति चिन्ता व्यक्त गरे । उनले कोरोना भाइरसको संक्रमणमा परेका नेपालीको सहयोगमा आफ्नो र अर्को नभनी एकजुट भएर लाग्नुपर्ने बताए । उनले सबैसँग हातमा हात मिलाएर अघि बढ्न आग्रह गरे ।

संघका उपाध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगारीमा रहेका गैरआवासीय नेपालीका समस्या र स्वास्थ्यसम्वन्धी सामग्री खरिदमा भएको प्रगति विवरणबारे बिस्तृत जानकारी दिए ।
संघका उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपालहरुले पठाएका स्वास्थ्य सामग्री वितरणमा सरकारी प्रक्रिया ढिलो भएको जानकारी दिए ।

बैठकमा अर्का उपाध्यक्ष मन केसीले कोरोना भाइरसका कारण अष्ट्रेलियमा रहेका नेपालीहरुले भोगेको समस्यका बारेमा जानकारी दिए ।
संस्थापक नेता रामप्रताप थापाले संसारभर ९० प्रतिशत विद्यार्थीलाई खान बस्नको लागि समस्या रहेको बताए । उनले विद्यार्थीको मुख्य समस्यामा केन्द्रित रहेर संघले राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
बैठकमा संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वमा रहेका गैरआवासीय नेपाली समुदायका गतिविधी र समस्याका बारेमा आफ्ना भनाई राखेका थिए ।
कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक पारदर्शितका बारेमा प्रकाश पारेका थिए । उनले सबै राष्ट्रिय समितिलाई तीन–तीन महिनामा आर्थिक रिपोर्ट वेभसाइटमार्फत् सार्वजनिक गर्ने व्यवस्था गरेको जानकारी दिए ।
कोरोना भाइरसको महामारीपछि विश्वव्यापी नेपालले भोगेको समस्याका बारेमा संघका पूर्वअध्यक्षको महत्वपूर्ण भूमिका हुने बताए ।
महिला संयोजक भूमा लिम्बुले संघको सक्रियतामा नेपालमा पठाएको सामान सदुपयोग भएको छ की छैन त्यसबारेमा सजक हुनुपर्नेमा जोड दिइन् । उनले विदेशमा रहेका नेपालीलाई खानबस्नको समस्या रहेको बताइन् ।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठक महासचिव डा. हेमराज शर्माले सञ्चालन गरेका थिए । महासचिव शर्माले कोरोना पिडित नेपालीहरुको तथ्यांक संकलन भैरहेको जानकारी बैठकमा गराएका थिए ।
बैठकमा संघका एनआरएनएका उपाध्यक्ष अर्जुन श्रेष्ठ, युवा संयोजक हिमाल गुरुङ्ग, र संघका कार्यकारी निर्देशक हेमन्त दवाडीको उपस्थिती थियो ।