८ बैशाख २०८१, शनिबार
Follow Us

महारानी एलिजावेथको जन्मदिनमा सलामी नदिइने : दरबार

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७७, शनिबार १४:३५

लन्डन । कोरोनाभाइरस सङ्कटका कारण बेलायती महारानी एलिजावेथ द्वित्तीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यसवर्ष नहुने र जन्मदिनलाई सामान्यरूपमा मनाइने बकिङ्गम प्यालेसले शनिबार जानकारी गराएको छ ।

दरबार श्रोतले एएफपीसँग भन्यो, “महारानीको जन्मोत्सवका दिन मङ्गलबार त्यहाँ कुनै बन्दूक पड्काएर सलामी (सम्मान) हुनेछैन । महारानीले अहिलेको विसम परिस्थितिका कारण बन्दुकको सलामी र अन्य कुनै विशेष कार्यक्रम नगर्न इच्छा प्रकट गर्नुभएकोले उक्त कार्यक्रमलाई यस वर्ष नगरिने भएको हो ।”

महारानी मङ्गलबार (अप्रिल २१) मा ९४ वर्ष लाग्नुहुनेछ । उहाँले विरलै राष्ट्रिय सम्बोधन गर्ने भएपनि इशाईहरूको धार्मिक पर्व इस्टरमा गरेको सम्बोधनमा उहाँले कोरोनाभाइरस सङ्क्रमणको स्वास्थ्य समस्याबाट छिट्टै मुक्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

महारानीले उक्त सम्बोधनमा भन्नुभयो, “हामीलाई विश्वास छ कोरोनाभाइरसले समस्त मानव जातिलाई जित्न सक्दैन ।”

उहाँले कोरोनाविरूद्धको सङ्कट हटेपछि देशमा बन्दाबन्दी (लकडाउन) पनि हट्ने छ र त्यसपछि आफू सार्वजनिक रूपमा उपस्थित हुने विश्वास उक्त सम्बोधनमा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी फेरि भेट्नेछौँ ।”

कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण शनिबारसम्ममा विश्वमा एक लाख ५५ हजार १९० जनाकाृ मृत्यु भइसकेको छ भने २२ लाख ६९ हजार १४३ व्यक्ति सङ्क्रमित भएका छन् । सुरूमा चीनमा पत्ता लागेको यो भाइरस सङ्क्रमणका कारण शनिबार सम्ममा सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अमेरिकामा रहेको छ । सङ्क्रमणका कारण बढी प्रभावित हुने अन्य मुलुकहरूमा स्पेन, इटली, फ्रान्स, जर्मनी र बेलायत अग्रस्थानमा पर्छन् ।

मृत्यु र सङ्क्रमणका हिसाबले बेलायत पनि छैठौँ स्थानमा रहेको छ । सङ्क्रमितको सङ्ख्या रोक्ने एउटा उपायका रूपमा बेलायतको सरकारले गत महिनादेखि बन्दाबन्दी (लकडाउन) आदेश जारी गरेको थियो । सङ्क्रमण दर नियन्त्रणमा नआएपछि यो हप्ता सरकारले लकडाउनको अवधि थप तीन हप्ताको लागि बढाएको छ । बेलायतमा कोरोनाभाइरस सङ्क्रमणबाट शनिबारसम्ममा मृत्यु हुनेको सङ्ख्या १४ हजार ५७६ पुगेको छ भने एक लाख आठ हजार ६९२ व्यक्ति सङ्क्रमित रहेका छन् ।