६ बैशाख २०८१, बिहीबार
Follow Us

विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकार र एनआरएनए बीच छलफल

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७७, आईतवार १४:००

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनको लागि आवश्यक वातावरण तयार गर्ने नेपाल सरकार समक्ष माग गरेको छ ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा आइतवार गएको एक प्रतिनिधिमण्डलले श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई विदेशमा अलपत्र परेका नेपालीहरुको समस्याको बारेमा ध्यानाकर्षण गराउँदै उक्त माग गरेको हो ।

६ बुँदे ध्यानकर्षण पत्र बुझाउदै प्रतिनिधीमण्डलले खाना बस्न कै समस्या भोग्नेहरुका लागि खाद्यान्न लगायतका अत्यावश्यक वस्तु वितरण गर्ने, विदेशबाट फर्कनेहरुलाई नेपालमा पुर्नस्थापना गर्न, विदेशबाट फर्कनेहरुलाई नेपालमा पुर्नस्थापना गर्न र सस्तो व्याजमा ऋण पाउने व्यवस्था र मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न आग्रह गरेको छ ।

प्रतिनिधीमण्डलमा संघका उपाध्यक्ष सोनाम लामा र बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ र प्रमुखकार्यकारी अधिकृत हेमन्त दवाडी लगायतको सहभागी थिए ।

यस्तो छ संघले गराएको ध्यानाकर्षणका बुँदाहरु
१-अप्ठेरोमा परेका र नेपाल फर्कन अति आवश्यक भएकाहरुको हकमा राज्यले कुनै न कुनै उपाय गरी नेपाल फर्काउने बातावरण बनाईयोस् । नेपाल फर्के पश्चात अनिवार्य रुपमा निश्चित समय कवारेन्टाईन र सेल्फ आईसोलेसनमा बस्ने व्यवस्था गर्दै आफ्ना नागरिकहरु प्रतिको दायित्वबाट सरकार विचलित नहोस ।

२- हाल खाना बस्न कै समस्या भोग्नेहरुका लागि गैरआवासीय नेपाली संघ र त्यहाँ अवस्थित नेपाली नियोगहरुको समेतको समन्वयमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु वितरण गर्ने व्यवस्था मिलाईयोस् । सरकारले राख्ने रकमको अनुपातमा एक हिस्सा राख्न संघ तयार रहेको छ ।

३- विदेशबाट फर्कनेहरुलाई नेपालमा पुर्नस्थापना गर्न र उनीहरुलाई रोजगार वा स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याईयोस । विदेशबाट फर्कनेहरुको सिपको विवरण संकलन गरी त्यो सिप नेपालमा प्रयोग गर्ने गरी सिप बैंकको स्थापना गरियोस् र यसको विवरण नेपाली उद्यमी व्यवसायीहरुलाई उपलब्ध गराईयोस् ।

४- विदेशमा जानेले सिकेको सिपका आधारमा आफ्नै व्यवसाय सुरु गर्न चाहनेहरुलाई मद्दत गर्ने कार्यक्रम एवं तिनिहरुलाई सहज र सस्तो व्याजमा ऋण पाउने व्यवस्था गरियोस् ।

५ -विदेशबाट फर्केकाहरुलाई प्रमुख त कृषिको आधुनिकिकरणको क्षेत्रमा प्रयोग गर्ने नीति लिईयोस् यसले एकातर्फ नेपाल कृषि उत्पादनमा आत्मनिर्भर बन्दै जाने छ भने अर्कोतर्फ खेतीयोग्य जग्गा बाँझो राख्ने प्रवित्ति समेत घट्ने छ ।

६- विदेशबाट फर्कनेहरुले ठूलो मनोवैज्ञानिक त्रासदी समेत बाट पीडित हुनसक्ने हुनाले फर्कना साथ आईसोलेसनमा रहने अवस्थामा मनोचिकित्सकको समेत सल्लाह पाउन सक्ने व्यवस्था होस् र उनीहरुलाई नयां उद्योग व्यवसाय सुरु गर्न आवश्यक सूचना प्रवाह हुने र जानकारी दिने व्यवस्था गरियोस् ।

अहिलेको अवस्थालाई संकटका रुपमा मात्र नहेरी एक अवसरका रुपमा प्रयोग गरियोस् । अन्ततः मुलुक समृद्ध विदेशमा गएर रोजगारी गरेर हुदैन, मुलुकभित्र नै राम्रा रोजगारीका अवसर सिर्जना गरेर मात्र संभव छ ।