६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएमा सिइओ विवाद टुंगियो, दवाडीद्वारा राजीनामा, राणालाई स्पष्टिकरण

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७७, सोमबार १०:३०

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको सिइओ (प्रमुख कार्यकारी अधिकृत) को करिब ३ वर्षदेखिको विवाद अन्त्य भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयको नेतृत्व सम्हालेका डा. हेमन्त दवाडीले गत आइतवार राजीनामा दिएपछि विवाद अन्त्य भएको हो । तत्कालीन अध्यक्ष भवन भट्टले अर्का सिइओ राजेश राणालाई बर्खास्त गरेर दवाडीलाई नियुक्ति गरेका थिए ।
तर रानाले आफूमाथि अन्याय भएको भन्दै श्रम अदालतमा गएका थिए । अदालतले उनलाई पुनवर्हाली गर्न आदेश दिएको थियो । त्यसपछि एनआरएए सचिवालयमा दुईजना सिइओ भए ।
गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार दवाडीलाई ५८ वर्षे उमेर हदका कारण श्रम ऐन, बमोजिम अवकाश दिइएको हो । स्रोतले भन्यो, ‘हामी सो विवाद सुरुमै सल्ट्याउन चाहन्थ्यौ, तर लामो समयदेखि किचलो थियो । कानुनी प्रकृया पु-याउन समय लाग्यो, अब दुई जना सिइओ विवाद सकियो ।

स्रोतले भन्यो, डा. दवाडीको करार सकिएको थियो । संघ ९ औंं सचिवालय बैठकले डा. दवाडीको करार नथप्ने निर्णय गरेको हो । स्रोतका अनुसार दवाडीलाई राजिनामा दिन वा बर्खास्तीको पत्र बुझ्ने मध्य एक रोज्न भनिएको थियो । दवाडीले आफै राजीनामा गर्ने बाटो रोजेका हुन् ।

यसअघि गत मार्च महिना बसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठकले कर्मचारी नियमावली संशोधन गरेर दवाडीलाई विदाई गर्ने बाटो खोलेको थियो । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा लामो अनुभव बटुलेका दवाडीले संघको दोस्रो पटक सिइओ सम्हालेपछि संघभित्र आर्थिक बिकृति भित्रिएको र नेतृत्व क्षमतामै प्रश्न उठेपछि उनी आलोचित थिए ।

यसैबीच पूर्वकार्यकारी निर्देशक राजेश राणालाई संघले आर्थिक अनियमितता प्रकरणमा स्पष्टिकरण सोधेको छ । गैरआवासीय नेपाली संघको नेतृत्व अध्यक्ष कुमार पन्तले समालेपछि गरिएको विस्तृत आर्थिक लेखा परिक्षण (डिडिए) ले लाप्राक र एनआरएनए भवन निमार्ण प्रकृयामा आर्थिक घोटाला देखिएपछि राणालाई स्पष्टिकरण सोधिएको हो ।

राणालाई तत्कालीन अध्यक्ष शेष घलेले आफ्नो कार्यकालको अन्त्यमा एकै पटक १ लाख रुपैयाँ तलव बृद्धि गरिदिएपछि विवादमा आएका थिए । पन्तले आफ्नो घोषणापत्रमै संघको सचिवालयको रिफर्म (पूवर्रावलोकन) गर्ने अजेन्डा अघि सारेका थिए ।

संघले लाप्राक र केही स्थानीय कर्मचारीलाई समेत विदाई गर्ने निर्णय गरेको छ । संघको केन्द्रीय कार्यालयमा अनावश्यक कर्मचारी रहँदा ठूलो आर्थिक दायित्व व्यहोरेको थियो ।

स्रोतका अनुसार संघले तत्काल सिइओको जिम्मेवारी कसैलाई पनि नदिने भएको छ । संघको विधानअनुसार प्रसाशनिक प्रमुखको जिम्मेवारी संघका महासचिवलाई दिइएको छ । करिब २ लाखभन्दा बढी तलवसहित गाडी, भत्तालगायतको सुविधा रहेको एनआरएनए केन्द्रीय कार्यालयको सिइओ पद आकर्षक मानिन्छ ।