१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा लकडाउन खुकुलो नबनाइने

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७७, सोमबार १२:५७

लन्डन । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पहिलो पटक सार्वजनिक भएका छन् । प्रधानमन्त्री जोनसन केही दिनअघि नै निको भएको बताइए पनि उनी सोमबार मात्रै सार्वजनिक भएका हुन् ।

प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रीटबाट सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले बेलायतमा लकडाउन र प्रतिबन्ध खुकुलो नबनाउने बताएका छन् । उनले बेलायतलाई कोरोना संक्रमणका हिसाबले कुनै पनि हालतमा दोस्रो पटक उच्च विन्दुमा पुग्न नदिने बताएका छन् । जोनसनले भने, ‘मलाई थाहा छ, धेरै नै कठिन भइरहेको छ । हाम्रो अर्थतन्त्र पनि तीव्र गतिमा अघि बढोस् भन्ने नै चाहन्छु म । तर बेलायती नागरिकको बलिदानी चाहन्नँ ।’

बेलायतमा लकडाउन खुकुलो बनाउने र परीक्षणको दायरा बढाउने स्पष्ट नीति बनाउन चर्को दबाब आइरहेका बेला प्रधानमन्त्री जोनसन सोमबारदेखि नियमित काममा फर्किएका हुन् ।

उनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सबैले उल्लेखनीय भूमिका खेलेको भन्दै धन्यवाद पनि दिएका छन् । हरेक दिन नयाँ भाइरसले नयाँ दु:ख दिइरहेको भए पनि रोकथाम तथा नियन्त्रणका क्षेत्रमा आफूहरुले प्रगति गरेको पनि प्रधानमन्त्री जोनसनले बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत मार्च २७ मा आफूमा कोरोना संक्रमण पुष्टि भएको घोषणा गरेका थिए । त्यसपछि उनी डाउनिङ स्ट्रीटमै आइसोलेसनमा बसेका थए । तर स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनी संक्रमण पुष्टि भएको १० दिनपछि अस्पताल भर्ना भएका थिए । उनी अप्रिल १२ मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

उनको अनुपस्थितिका बेलायतको दैनिक प्रशासन सञ्चालनको जिम्मेवारी विदेश मन्त्री डोमिनिक राबलाई दिइएको थियो ।

बेलायतमा सोमबार बिहानसम्म करिब एक लाख ५४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ भने २० हजारभन्दा बढीको मृत्यु भएको छ ।