४ बैशाख २०८१, मंगलवार
Follow Us

बुद्ध फाउण्डेसन यूकेद्धारा वेलायतका स्वास्थ्यकर्मीलाई निशुल्क खाना वितरण

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७७, बिहीबार १५:३७

लण्डन । हरेक वर्ष बुद्धजयन्तीको अवसर पारेर लण्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुँदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण सम्भव भएन ।

विगतमा जस्तै कार्यक्रम आयोजना गर्न नपाएपनि बुद्ध फाउण्डेसन यूकेले बुद्धजयन्ती मनाउने फरक शैली अपनाएको छ ।

फाउण्डेसनले विहिबार बुद्धजयन्तीकै दिन ‘कोभिड-१९’ विरुद्ध अग्रमोर्चामा खटिएका ‘एनएचएस स्टाफ’ लाई खाना वितरण गरेको छ ।

साउथ ईष्ट लण्डनस्थित क्वीन एलिजावेथ अस्पतालका करिब ७० जना स्टाफलाई ‘लञ्च’, पानी तथा फलफूल वितरण गरिएको फाउण्डेसनका सदस्य जीवन सेनले नेपाली लिंकलाई बताए । खानाको सौजन्य समाजसेवी एवम् जनसम्पर्क समिति यूकेका उपसभापति सुरज केसी सञ्चालक रहेको ग्रीनवीचस्थित ‘रोयल नेप्लिज रेष्टुरेन्ट’ ले गरेको थियो ।

बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव अर्जुन कटुवाल , सचिव सुरेन रुपाखेती, सदस्य जीवन सेन र रोयल नेप्लिज रेष्टुरेन्ट सञ्चालक केसीले अस्पतालमै पुगेर खाना वितरण गरेका थिए । महामारीविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई हौसला र ऐक्यबद्धता प्रदान गर्ने आफ्नो उद्धेश्य रहेको फाउण्डेसनले बताएको छ ।

खाना वितरण गर्दै बुद्ध फाउण्डेसन यूकेका पदाधिकारी

यसैबीच, फाउण्डेसनले विहिबार साँझ बेलायतबासी सबै नेपालीलाई आआफ्नो घरमा दीप प्रज्वलन गर्न पनि आव्हान गरेको छ ।

बुद्धजयन्तीका अवसरमा ‘कोभिड १९’ विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी र अन्य अत्यावश्यक सेवामा कार्यरत सबैप्रति सम्मानस्वरुप दीपावली गर्न आव्हान गरिएको हो ।

विहीबार साँझ ८ बजे एनएचएसकर्मीको सम्मानमा बेलायतभर घरबाहिर निस्किएर ताली बजाउनुभन्दा दुई मिनेटअघि ७ बजेर ५८ मिनेटमा दीपावली गर्न फाउण्डेसनले आव्हान गरेको छ ।