८ बैशाख २०८१, शनिबार
Follow Us

अमात्यलाई लन्डनमा शाही सम्मान

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७७, मंगलवार ०५:०३

डिसी । ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यले बेलायतको शाही सम्मानका साथ मानवता सेवा पुरस्कार प्राप्त गरेकी छन् । उनले मानव सेवामा गरेको कामको मूल्यांकन गर्दै बेलायती शाही परिवारले उक्त पुरस्कार दिएको हो ।

यो सम्मान पाउने उनी सम्भवत पहिलो नेपाली युवा नेतृत्व हुन् । गत वर्ष २०१९ मा अमात्य डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भएकी थिइन् ।

उक्त पुरस्कार अमात्यसहित अन्य १९ वटा देशका व्यक्तिहरुलाई पनि दिइएको छ । जसमा बेलायत, क्यानडा, मलेसिया, नाइजेरिया, तान्जानिया र भारत छन् ।

उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाइ लर्ड एर्ल स्पेन्सरले वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरूले समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

आमाले ग्रहण गरिन् पुरस्कार

उक्त पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरिन् । पुरस्कार ग्रहण गरेपछि आमा कृष्ण अमात्यले भनिन्, ‘एक आमाको रूपमा एउटा बच्चा (कन्चन) पाएकोमा अत्यन्त गर्व गर्छु ।’

कन्चनले भनिन्, ‘अन्तर्राष्ट्रिय आमा दिवसको अवसरमा पाएको यो पुरस्कार म विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन् । र जसले सबै कठिनाइहरूको बाबजुद पनि मेरो उत्तम पालनपोषण गरिन् ।’