१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल फर्किन चाहनेको तथ्यांक संकलन गर्दै एनआरएनए यूके

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७७, मंगलवार २०:३४

लण्डन । कोरोना भाइरस महामारी रोकथामको प्रयासमा लगाइएको ‘लकडाउन’ का कारण नेपाल फर्किन नपाएर बेलायतमै रोकिएका धेरै नेपाली छन् ।

उनीहरुलाई सहज रुपमा यथासक्य चाँडो नेपाल फर्काउन पहल गर्ने लक्ष्यसहित एनआरएनए यूकेले नेपाल फर्किन चाहनेहरुको तथ्यांक संकलन गर्ने भएको छ ।

लकडाउनका कारण रोकिएका र नेपाल फर्किन चाहने बेलायतस्थित सबै नेपालीको नामावली संकलन गरेर नेपाल सरकारसम्म पुर्याउनका साथै उनीहरुलाई स्वदेश फर्काउन पहल गर्ने योजना रहेको यस अभियानका संयोजक एवम् एनआरएनए यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेल बताउँछन् । साथै, अन्य ट्राभल कम्पनी र सरोकारवालासंग समन्वय गरेर उनीहरुलाई नेपाल फर्काउने कार्यमा सहजीकरण गरिने पनि पोखरेलले बताए ।

लकडाउनका कारण बेलायतमै रोकिएका र नेपाल फर्किन चाहने सबै नेपालीहरुलाई आफ्नो विवरण एनआरएनए यूकेलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

‘तपाईं लकडाउनकै कारण रोकिनुभएको छ र चाँडै नेपाल फर्किन चाहनुहुन्छ भने आफ्नो नाम हामीसंग टिपाउनुहोस्’, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले भनेकी छन्, ‘हामी जे-जसरी सक्छौं, तपाईंलाई सकेसम्म चाँडै नेपाल जाने वातावरण बनाउन पहल गर्नेछौं ।’

महामारीका बेला अफ्ठेरोमा परेका नेपालीहरुलाई जुनसुकै तरिकाबाट पनि सहयोग गर्ने संस्थाको चाहना रहेको अध्यक्ष गुरुङले बताइन् ।

बेलायत भ्रमण तथा भेटघाटका लागि आएका नेपाली, अध्ययनका लागि आएका विद्यार्थी, जाँच दिन आएका डाक्टरहरु लगायतका धेरै अहिले नेपाल फर्किन नपाएर रोकिएका छन् ।

नेपाल सरकारले सबै अन्तर्राट्रिय उडान बन्द गरेका कारण उनीहरु बेलायतमै रोकिएका हुन् । लण्डनस्थित नेपाली दूतावासले पनि नेपालमा अन्तर्राष्ट्रिय उडानहरु खुला नहुँदासम्म उनीहरुलाई स्वदेश फर्काउन सहज नभएको बताएको छ ।

बेलायतबाट नेपाल फर्किन चाहनेहरुले यो लिंकमा क्लिक गरेर एनआरएनए यूकेलाई आफ्नो विवरण उपलब्ध गराउन सक्नेछन् ।