६ बैशाख २०८१, बिहीबार
Follow Us

सिसेल्समा ज्यान गुमाएका नेपाली युवाको दाहसंस्कार

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७७, बुधबार १९:०१

लण्डन । केही समयअघि अफ्रिकी मुलुक सिसेल्समा ज्यान गुमाएका नेपाली युवाको उतै दाहसंस्कार गरिएको छ । गएको मार्च २२ तारिखमा बराह नगरपालिका १ चतराका ज्ञानेन्द्र श्रेष्ठको हृदयघातका कारण मृत्यु भएको थियो ।

एनआरएनए सिसेल्सका अध्यक्ष राम प्रसाद पन्तका अनुसार श्रेष्ठको मे १३ तारिख बुधवार बिहान सिसेल्समै दाहसंस्कार गरिएको हो । हालको परिस्थितिलाई मध्येनजर गर्दै मृतकका परिवार र सम्बन्धीत कम्पनीको सहमतिमा उनको उतै दाहसंस्कार गरिएको अध्यक्ष पन्तको भनाइ छ।

उनी त्यहाँ सनसाइन प्रोपटीज कम्पनीमा सुरक्षा गार्डकाे काम गर्थे । गएको मार्च २२ तारिख डिउटीबाट फर्किएर नुहाइ धुवाइ गरेपछि केहीबेर आराम गरेर ट्वाइलेट गएका श्रेष्ठ त्यहि ढलेका थिए । ट्वाइलेटबाट ठूलो आवाज आएपछि उनीसँगै रहेका नेपाली साथीहरु त्यहाँ पुगेर हेर्दा ढलेकाे अवस्थामा फेला परेका थिए । उनलाई बाहिर निकाल्दासम्म उनको ज्यान गइसकेको थियो । तत्कालै आएको प्रहरीले उनलाई सरकारी अस्पताल लगेको थियो । तर, उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो । अस्पतालले उनको मृत्युको कारण हृदयघात भएको जनाएको थियो ।

यसअघि २०१९ मा मृत्यु भएका नवलपुरका सिम बहादुर गुरुङको पनि उतै दाहसंस्कार गरिएको थियो । गुरुङको मुसाबाट सर्ने रोगका कारण मृत्यु भएको थियो ।

गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुुसार सिसेल्समा करिब १ हजार ५ सय नेपालीले रोजगारी गर्दै आएका छन् ।