६ बैशाख २०८१, बिहीबार
Follow Us

पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा कास्कीमा राहत वितरण

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७७, शुक्रबार १०:५२

लण्डन । पंचासे हर्पनडाडा समाज युकेको सहयोगमा कोरोना प्रकोपका कारण आर्थिक समस्यामा परेका कास्कीको पोखरा महानगरपालिका -२३ मा बसोबास गर्ने ७९ जना विपन्न तथा असहाय परिवारलाई खाद्यान्न सहित राहत सामाग्री वितरण गरिएको छ।

कास्की, स्यांजा र पर्वतको सिमानामा पर्ने पंचासे क्षेत्रको रुपमा समेत चिनिने दमदमे, सिधाने, कुद्बीडाँडा र मकानपुर क्षेत्रमा मंगलबार राहत सामाग्री वितरण गरिएको हो।

दमदमे, सिधाने, कुद्बीडँडा र मकानपुर लगायतका क्षेत्रबाट युकेमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुले सन् २०१२ मा पंचासे हर्पनडांडा समाज युकेको स्थापना गरेका हुन।

राहत वितरण कार्यक्रममा बोल्दै एनआरएन युकेका सल्लाहकार समेत रहेका पंचासे हर्पनडांडा समाज यूकेका महासचिव प्रकाश गुरुङले आफ्नो जन्म स्थानको सम्झना र आफन्तहरुको मायाका कारण कठिन परिस्थितिमा रहेर पनि युकेमा रहेकाहरुबाट सहयोग जुटेकोले राहत सामाग्री वितरण गरिएको जानकारी दिए। बेलायतमा कोरोनाबाट नेपाली मात्रै ६४ जनाको मृत्यु भैसकेको अवस्थामा पनि समाजले आफ्नो गाउँका लागि सहयोग गर्न बिर्सेको छैन। समाजले यस अघि पनि विभिन्न कामका लागि करिव ३० लाख वरावरको सहयोग (एम्बुलेन्स सेवा, भूकम्प पीडित, बाढीपहिरो र उपचारका लागि) गरेको र भविष्यमा पनि गर्दै जाने उनले बताए।

गुरुङ सहित उनकी श्रीमती संगिना गुरुङ र समाजका सदस्हरु धर्मावती गुरुङ र मनदेवी गुरुङ राहत वितरणमा सहभागी भएका थिए।

पोखरा महानगर-२३ का वार्ड सदस्यद्वय दुर्गा बहादुर घले र भरत भण्डारीको रोहवरमा तीन स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरेर राहात वितरण गरिएको थियो । प्रति परिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी दाल, २ केजी चिउरा, नुन, चिनी, चियापत्ती, साबुन लगायतका सामग्री राहत स्वरुप वितरण गरिएको थियो।

त्यस अवसरमा बोल्दै अग्रज पत्रकार गंगाधर पराजुलीले युकेमा बस्नेहरुले आफ्नो गाउंलाई सम्झेर सहयोग गरेकोमा खुसी प्रकट गर्दै समाजले अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए। आफ्नो बेलायत भ्रमण पछि समाजसंगको सम्बन्ध थप प्रगाढ बनेको स्मरण गर्दै पराजुलीले यस पटक पनि आफ्नो जन्मगाऊँमा समाजकै सहयोगमा राहात सामाग्री लिएर आउन पाएकोमा ख़ुशी लागेको बताए।

राहत वितरण गर्न आयोजित छुट्टा छुट्टै संक्षिप्त कार्यक्रममा स्थानीय समाजसेवीहरु पदम बहादुर गुरुङ, गुमानसिंह गुरुङ, शिक्षासेवी मिनबहादुर गुरुङ, सामाजिक कार्यकर्ता सबिन गुरुङ, लक्ष्मी गुरुङ लगायतले आआफ्नो भनाई राखेका थिए।