७ बैशाख २०८१, शुक्रबार
Follow Us

भूमि अतिक्रमणको विरोधमा उत्रियो एनआरएन युके, मोदीलाई ज्ञापनपत्र बुझाईयो (फोटो/ भिडियो फिचर)

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७७, मंगलवार ०६:३६

अल्डरसट । भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध जनाउँदै एनआरएनए यूकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ ।

सोमबार दिउंसो एकै समयमा अल्डरसट, मिडल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डसहित पाँच छुट्टाछुट्टै स्थानबाट उक्त ज्ञापनपत्र पठाइएको छ ।
नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्रीको कार्यालयका साथै लन्डनमा रहेको भारतीय हाई कमिसनको ठेगानामा ज्ञापनपत्र र अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा समेत पठाइएको हो ।

ज्ञापनपत्रमा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्र नेपाली भूमि रहेको ऐतिहासिक प्रमाणहरु हुँदा हुँदै पनि भारतले अतिक्रमण गरेको भन्दै निन्दा गरिएको छ ।

दुई देशबीचको सीमा विवादलाई कूटनीतिक माध्यमले समाधान गर्नुपर्नेमा भारतले एकपक्षीय रुपमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको आरोप लगाइएको छ ।

नेपालको सबैभन्दा नजिकको छिमेकी मित्रराष्ट्र भारतको हस्तक्षेपकारी व्यवहारले सम्पूर्ण गैरआवासीय नेपालीको समेत मन दुखाएको भन्दै अतिक्रमित भूमि फिर्ता गर्ने नेपाल सरकार र नेपाली जनताको कदममा एकसाथ रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

अल्डरसटमा ज्ञापनपत्र पठाउन एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, उपाध्यक्षहरु प्रेम गाहामगर र रोजिना प्रधान राई, महासचिव फडिन्द्र भट्टराई, सचिव रन्जिता मल्ल, युवा संयोजक नवीन गुरुङ, कार्यसमिति सदस्यहरु हेम गुरुङ, प्रकाश कंडेल र धन सार्की, इङ्ल्यान्ड परिषद उपाध्यक्ष एलबीजेड गुरुङ र सहकोषाध्यक्ष चन्दन गुरुङसहितका पदाधिकारी पोस्ट अफिस पुगेका थिए ।

त्यस्तै, आइसिसी सदस्यद्वय योगकुमार फगामी र सुशिला राई, मानार्थ सदस्यद्वय पुरन गिरी र ले। चन्द्र गुरुङ, एनआरएनए यूके सल्लाहकारहरु हिराधन राई, जीव बेल्बासे, सुमित्रा राई, रामचन्द्र सुर्जे गुरुङ, मीन गुरुङलगायत पोस्ट अफिस पुगेका थिए ।

मिडल्यान्डका एनआरएनए अभियन्ताहरुले लेष्टरस्थित पोस्ट अफिस पुगेर ज्ञापनपत्र पठाएका छन् ।

त्यसअवसरमा मिडल्यान्डका सबै क्षेत्रबाट एनआरएनए अभियन्ता र स्थानीय संघसंस्थाका प्रतिनिधि गरी कुल २८ जना सहभागी थिए ।

मिडल्यान्डमा एनआरएनए यूके सचिव कोशलेश्वर ढकाल, आइसीसी सदस्य दयानिधि सापकोटा, आइसीसी मानार्थ सदस्य रण केसी, एनआरएनए यूके सल्लाहकार एवम् साझा नेपाली समाज यूके अध्यक्ष महेश अधिकारी, सल्लाहकारहरु पशुपति पोखरेल, नारायण फुयाँल, राजु कंडेल, एनआरएनए यूके कार्यसमिति सदस्यहरु कृष्ण खरेल र गोमा पौडेल सहभागी थिए ।

त्यस्तै, एनआरएनए यूकेका निवर्तमान सचिव तारानाथ भन्डारी तथा सदस्य पवन शर्मा, ननिटनस्थित समाजसेवी भिम सारु, सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष बलराम चापागाइं र महासचिव पुन्डरी अर्याल, नटिङहम नेपाली समाज यूके अध्यक्ष दिपक सापकोटा लगायत पनि उपस्थित थिए ।

स्कटल्यान्डबाट एनआरएनए यूके उपाध्यक्ष मोहन कार्की, स्कटल्यान्ड परिषद अध्यक्ष छबिलाल अर्याल, सचिव दिवाकर पाण्डे लगायतले ज्ञापनपत्र पठाए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा गैरआवासीय नेपाली संघ राज्य परिषदका पदाधिकारीहरु, फोर्थ भ्याली नेपाली एशोसिएसन, फाइफ नेप्लिज कम्युनिटी लगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो।

त्यस्तै, वेल्सबाट एनआरएनए यूके उपाध्यक्ष रामचन्द्र पोखरेल, वेल्स परिषद अध्यक्ष कृष्ण भन्डारी तथा नर्दन आयरल्यान्डबाट एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेल, नर्दन आयरल्यान्ड परिषद अध्यक्ष नारायण कुँवरसहित स्थानीय राज्य परिषदका पदाधिकारीहरुले ज्ञापनपत्र पठाएका थिए ।

पाँचवटै ठाउँमा ज्ञापनपत्र बुझाइएको कार्यक्रम एनआरएनए यूकेका सचिव जीत रानाभाटले ‘जूम’ मार्फत लाइभ प्रसारण गरेका थिए ।

उक्त कार्यक्रममा आइसीसी महासचिव डा हेमराज शर्मा, इङल्यान्ड परिषदका अध्यक्ष दीपक श्रेष्ठ लगायतले मन्तव्य राख्दै ऐक्यबद्धता जनाएका थिए ।