११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए माल्टा छानविन समितिमै विवाद

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७७, मंगलवार ०८:२५


कार्यक्षेत्र नाघेर प्रतिवेदन दिने प्रयास

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा छानविन समिति समितिमै विवाद देखिएको छ । गैरआवासीय नेपाली संघका युरोप संयोजक नारायण आचार्यको संयोजकत्वमा गठित समिति भित्र विवादकै कारणले केन्द्रले दुई–दुई पटक दिएको समयसीमाभित्र पनि छानविन समितिले प्रतिवेदन बुझाउन सकेको छैन । त्यसको प्रमुख कारण प्रतिवेदनमा प्रयोग गर्ने भाषा र उल्लेख गर्ने व्यक्तिको नामावली रहेको छ ।

एनआरएनए माल्टाका कार्यसमितिबाट गल्ती भएकोबारे छानविन समितिमा कुनै विवाद छैन । तर त्यसलाई कसरी प्रस्तुत गर्ने र क–कसको नाम उल्लेख गर्ने भन्ने विषयमा विवाद देखिएको हो ।

छानविन समितिका कतिपय सदस्यहरु अमूर्त रिपोर्ट नपठाउने पक्षमा छन । स्वीकार गरेका व्यक्तिहरुको नामै किटान गरी प्रतिवेदनमा उल्लेख गर्नुपर्ने पक्षमा उनीहरुको अडान छ । तर युरोपियन कानुन अनुसार छानबिन समितिलाई असर पर्न सक्ने भन्दै भाषा प्रयोगमा ध्यान दिनुपर्ने संयोजक आचार्यको अडान छ ।

गैरआवासीय नेपाली संघ स्रोतका अनुसार छानविन समितिका केही सदस्यहरुले आफैं कार्यवाहीको सिफारीस गर्न थाले पछि समितिभित्र एक मत नभएको हो ।

स्रोतका अनुसार कस्लाई के कार्यवाही गर्ने विषय छानविन समितिको कार्यक्षेत्रमा पर्दैन् ।

एनआरएनए केन्द्रले गठन गरेको छानबिन समितिमा संयोजक आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा रहेका छन् ।

न्यौपाने छानविन समितिको बैठकमा समेत सहभागी हुन् छोडेका छन् ।

पदाधिकारीहरुद्धारा सामूहिक राजिनामा

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा कार्यसमितिले सामूहिक राजीनामा दिएको छ । माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको समाचार सार्वजनिक भएपछि १९ सदस्यीय कार्यसमितिले राजीनामा दिएको हो ।

उनीहरुको राजीनामा पत्रमा आफूहरुमाथि गम्भिर आरोप लागेकाले नैतिकताको आधारमा छानविनका लागि सहयोग गर्न राजीनामा दिएको उल्लेख छ । राजीनामा पत्र एनआरएनए केन्द्रीय सचिवालयमा दर्ता भैसकोे छ ।