१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए माल्टाका अध्यक्ष सहित सबै पदाधिकारी बर्खास्त

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७७, शनिबार १८:४३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष सहित सबै पदाधिकारीहरु बर्खास्तमा परेका छन् ।

गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार शनिवार सम्पन्न संघको पदाधिकारी बैठकले अध्यक्ष सहित सबै पदाधिकारी माथि कार्यवाही स्वरुप उनीहरुको राजीनामा स्वीकृत गरेको हो ।

एनआरएनए माल्टाका पदाधिकारीहरु श्रमिक ल्याउन बिचौलियाको काम गरेको आरोप लागे पछि विवादमा आएका थिए । उनीहरु माथि लागेको आरोप छनबिन गर्न गैरआवासीय नपाली संघले एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

युरोप संयोजक नारायण आचार्यको संयोजकत्वमा गठित छानबिन समितिले गत हप्ता आफ्नो प्रतिवेदन संघ समक्ष पेश गरेको थियो । संघका अनुसार एनआरएनए माल्टाका पदाधिकारीहरुले छानबिन समिति समक्ष श्रमिक ल्याउने काममा संलग्न रहेको स्वीकार गरेका थिए ।

उनीहरुले आफूहरुमाथि गम्भिर आरोप लागेकाले नैतिकताको आधारमा छानविनलाई सहयोग गर्न भन्दै सामूहिक राजीनामा गरेका थिए । छानविन समितिले आफ्नो प्रतिवेदन सहित उनीहरुको राजीनामा केन्द्रमा बुझाएको थियो ।

संघका केन्द्रिय सदस्य तथा छानविन समितिका सदस्य रामशरण सिमखडाले संघको पछिल्लो निर्णयलाई स्वागत योग्य भएको बताए । उनले श्रमिक ल्याउने कार्यमा संलग्नलाई तत्काल संस्थागत कार्यवाही गर्न र संलग्न नभएकालाई सफाई दिन आग्रह गरे ।

एनआरएनए केन्द्रले गठन गरेको छानबिन समितिमा संयोजक आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा रहेका थिए ।