१५ चैत्र २०८०, बिहीबार
Follow Us

यसै बर्षदेखि गैरआवासीय नेपाली नागरिकता लागू हुने

नेपालब्रिटेन डट कम्
८ असार २०७७, सोमबार ०१:३०


अहिलेकै अधिवेशनबाट विधेयक अनुमोदन हुने

लन्डन । विदेशमा रहेका नेपालीले लामो समयदेखि प्रतिक्षा गरेको गैरआवासीय नेपाली नागकिताको माग यो वर्ष पूरा हुने निश्चितजस्तै भएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को संशोधनमा दफावार छलफलपछि प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले नागरिकतासम्बन्धी विधयेकलाई आइतवार बहुमतले अनुमोदन गरेपछि एनआरएनले नागरिकता पाउने बाटो खुलेको हो।

सत्तारुढ दल नेकपाका सांसद तथा एनआरएनए नागरिकता विधेयक संशोधनकर्ता मध्येका एक डा. सूर्य पाठकका अनुसार संसदीय समितिबाट सो विधेयक पारित भएपछि चालु संसदबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ पारित गर्ने बाटो खुलेको बताए ।

विधेयक संघीय संसदबाट पारित भएर राष्ट्रपतिले लालमोहर लगाउनुपर्छ । त्यसपछि कानुन कार्यान्वयनमा आउने र नियमावली बन्न बाटो खुल्नेछ । त्यसपछि मात्र गैरआवासीयले नागरिकता प्राप्त गर्ने सक्ने सांसद पाठकले बताए । सांसद पाठकले संसदबाट विधेयक पारित भएपछि नागरिकता वितरणसम्वन्धी नियमावली बन्ने र नागरिकता वितरणक कार्यान्वयनमा आउने बताए ।

गैरआवासीय नेपाली संघका संस्थापक तथा नागरिकता निरन्तरता समितिको प्रमुख सल्लाहकार रामप्रताप थापाले संसदीय समितिबाट विधेयक पारित भए पनि ढुक्क भएर बस्न सक्ने अवस्था नरहेको बताए । उनले संसदबाट पारित हुने नागरिकतासम्वन्धी ऐनले संविधानको भावना अनुरुप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

सल्लाहकार थापाले संविधानको भावनालाई गैरआवासीय नेपालीले कदर गर्ने बताउँदै राजनीतिकबाहेकका अन्य अधिकार पूर्णरुपमा प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए ।

कसरी पाइन्छ एनआरएन नागरिकता ?

गैरआवासीय नागरिकता लिनका लागि नेपाल नै आउनुपर्ने विषयमा समितिमा यसअघि नै सहमति जुटेका थियो । विधयेकमा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूबाट प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने संशोधन परे पनि समितिले नेपाल आउनैपर्ने व्यवस्था गरेको हो ।

नियमावली बनेपछि एनआरएनले नागरिकता लिनका लागि गृहमन्त्रालय तथा मातहतका निकायबाट नागरिकता प्राप्त गर्नेछन् ।

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नुअघि नेपालको नागरिकता त्यागेको हुनुपर्ने, नागरिकता लिन चाहने व्यक्तिको बाबु वा आमा, बाजे वा बज्यै, साविकमा नेपालमा रहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, एनआरएन नागरिकता लिन चाहने व्यक्तिले विदेशी मुलुकको नागरिकता लिएको प्रमाण पेश गर्नुपर्ने हुन्छ भने, सार्क राष्ट्रबाहेकको देशमा बसोबास रहेको प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

सार्क राष्ट्रमा बसोबास भएका गैरआवासीय नेपालीले भने एनआरएनले प्राप्त गर्ने नागरिकता पाउने छैनन् । त्यसरी नेपालको गैर आवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालको संविधान र कानुनको परिपालना गर्नुपर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने हुन्छ । जसका लागि शपथको पनि व्यवस्था गर्न लागिएको छ ।

के के व्यवस्थामा संसोधन गरियो
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा गैरआवासीय नागरिकता लिन चाहने व्यक्तिले तोके बमोजिमका कागजात राखी मन्त्रालय (गृह मन्त्रालय) समक्ष तोकिएबमोजिम निवेदन दिनुपर्ने भन्ने व्यवस्था गरेको थियो ।

उक्त व्यवस्थालाई संशोधन गर्नुपर्ने भन्दै सत्तारुण दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरू कृष्णभक्त पोखरेल, डा. सूर्य पाठकलगायतले संशोधन हालेका थिए ।

उनीहरूले हालेको संशोधन यस्तो थियो, दफा ५ मा गरिएको दफा (९क) को उपदफा (२) मा मन्त्रालय समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्नेछ भन्ने शब्दको सट्टा मन्त्रालय वा विदेशस्थित नेपाली कूटनीतिक नियोग वा सम्बन्धित जिल्ला कार्यालय समक्ष तोकिए बमोजिम निवेदन दिनुपर्नेछ’ भन्ने शब्दहरू राखिएको छ ।

भाषा जान्नुपर्ने अनिवार्य
एनआरएन नागरिक लिन चाहनेले नेपालमा बोलिने भाषा जानेको हुनुपर्ने व्यवस्था संशोधित विधेयकमा राखिएको छ । समितिका अधिकांश सदस्यहरूले एनआरएन नागरिकता लिन चाहनेले नेपालमा बोलिने कुनै न कुनै राष्ट्रभाषा जानेको हुनुपर्ने व्यवस्था गर्नुपर्ने कुरामा जोड दिएका थिए ।


राहदानी नपाउने

गैरआवासीय नेपालीले नेपाली राहदानी नपाउने गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरूले भने नेपालको रहदानी प्राप्त गर्ने छैनन्।् । उनीहरुले राजनीतिक अधिकारबाहेकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्ने छन् ।