७ बैशाख २०८१, शुक्रबार
Follow Us

न्याय माग्दै भुवन र साम्राज्ञी

नेपालब्रिटेन संवाददाता
२० असार २०७७, शनिबार ०५:२९

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको आरोप प्रत्यारोप झनै बढेको छ । दुबैले यतिबेला कानुनी बाटो रोज्ने चेतावनी एकअर्कालाई दिएका छन् ।

पाँच दिनअघि अभिनेत्री साम्राज्ञीले एउटा भिडियो इन्स्टाग्राममा राख्दै सो भिडियोमा आफ्नो पीडा व्यक्त गरेकी थिइन् । त्यसपछि उनले अर्को भिडियो फेरि पोस्ट गर्दै भुवन केसीले आफूमाथि चलचित्र ड्रिम्सको बेला शोषण गरेको सो भिडियोमा बताएकी छन् ।

साम्राज्ञीको यो भिडियो आएपछि अभिनेता भुवन केसीले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न साम्राज्ञीलाई चेतावनी दिएका छन् । अभिनेता केसीले नेपाल चलचित्र कलाकार संघको अनुशासन समितिमा एक निवेदन दिँदै आफूलाई साम्राज्ञीले लगाएको आरोपविरुद्ध न्यायका लागि अपिल गरेका छन् । उनले प्रहरीमा पनि यो प्रकरणको छानबिनका लागि उजुरी हाल्ने राजधानीलाई जानकारी गराए ।

कलाकारहरूबीचको विवाद मिलाउन नेपाल चलचित्र कलाकार संघले अनुशासन समिति गठन गरेको छ । अभिनेता केसीले सो समितिमा न्यायको माग गर्दै निवेदन हालेका हुन् । उनले सो आरोपबारे छानबिन होस् भन्दै आफ्नो चरित्रहत्या गर्ने काम साम्राज्ञी राज्यलक्ष्मी शाहबाट भएको निवेदनमा उल्लेख गरेका छन् ।

आफूले साम्राज्ञीलाई चलचित्र ड्रिम्समा मुख्य भूमिकामार्फत नायिकाको रूपमा नेपाली चलचित्रमा ल्याएको र फिल्मको छायांकनदेखि रिलिजसम्म कुनै पनि दुव्र्यवहार नगरेको केसीले सो निवेदनमा जनाएका छन् । आपूmमाथि कपोलकल्पित आरोप लगाएको भन्दै त्यतिबेला छायांकनमा रहेका कलाकार र प्राविधिकहरूलाई सोध्नका लागि पनि अभिनेता भुवन केसीले कलाकार संघलाई अनुरोध गरेका छन् । उनले आफूमाथि लगाएको आरोप पुष्टि गर्न साम्राज्ञीलाई चुनौती पनि दिएका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले संघमा भुवन केसीको निवेदन संघमा परेको बताए । आफूहरूले दुवै पक्षलाई बोलाएर वार्ता गराउने र सकेसम्म समन्वय गर्ने पनि उनले बताएका छन् । कलाकारहरूबीच यस्तो विवाद हुनु दुःखको कुरा भन्दै आफूलाई यस्ता विवादलाई मिलाउने पक्षमा रहेको उनले बताए ।

यता साम्राज्ञीले तेस्रो भिडियो बिहीबार बेलुका इन्स्टाग्राममा पोस्ट गर्दै आफूमाथि शोषण भएको दाबी गरेकी छन् । यो विषयमा अब कानुन व्यवसायीसँग छलफल गरेर न्यायको लागि अपिल गर्ने पनि उनले बताएकी छन् ।

पहिलो चलचित्र ड्रिम्स र त्यसपछि अरू दुईवटा फिल्ममा पनि आफूमाथि शोषण भएको उनले बताएकी छन्, ‘धेरैले मलाई त्यतिबेला शोषण भएको कुरा किन नबोलेको भनेर प्रश्न उठाएका छन् । त्यतिबेला म सानो थिएँ र बोल्न खोज्दा अरूले रोकेपछि नबोलेको हुँ र अहिले त्यो विषयमा बोल्ने सही समय हो,’ उनले भनेकी छन्, ‘अहिले यो कुरा भन्दा मन निकै हलुका भएको छ । अबका दिनमा आफूमाथि कसैले यस्तो गरेको खण्डमा सोझै कानुनी बाटो रोज्नेछु ।’

सुरुका तीनवटा फिल्मबाहेक त्यसपछि आफूलाई काम गरेको पाँच फिल्ममा निर्माता निर्देशक र कलाकारहरूले सम्मानसँगै पूर्ण सहयोग गरेको पनि उनले बताएका छन् । सुरुका तीनवटा फिल्ममा भोगेको दुव्र्यवहारबाट चलचित्र उद्योग नै छाड्ना लाग्दा आमाले आफूलाई रोकेको पनि साम्राज्ञीले बताएकी छन् । बाँकी पछिल्लो फिल्ममा पाएको साथ, सहयोग र सम्मानबाट नेपाली चलचित्र क्षेत्रमा असल र राम्रा मान्छे पनि हुँदा रहेछन् भन्नेबारे जानकारी पाएको पनि उनले बताइन् । विगतमा काममा व्यस्त हुँदा पुराना कुराबारे सोच्ने अवसर नपाए पनि अहिले घरमा बस्नुपर्दा पुराना कुराले निकै सताएको र सोही कारण आफूले बोलेको पनि उनले स्पष्ट पारेकी छन् ।
डब्बु क्षत्री/राजधानी दैनिकबाट