१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेजिंगस्टक मल्टिकल्चरल फोरमको अध्यक्षमा शिवजी श्रेष्ठ

नेपालब्रिटेन डट कम्
२४ असार २०७७, बुधबार ०६:११

लण्डन । नेपालीहरूले बिदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दो छ । बिदेशमा व्याबसाय, अध्ययनसँगै बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा नेपालीहरू नेतृत्व तहमा पनि स्थापित भइरहेका छन् ।

यसै क्रममा सोमबार भएको बेजिंगस्टक मल्टिकल्चरल फोरमको ट्रष्टीहरूको बैठकले शिवजी श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

यसअघि लामो समय भारतीय र क्यारेबियन नेतृत्वको बाहुल्य रहेको यस फोरममा अफ्रिकन मुलुक नाइजेरियन मुलका अध्यक्षलाई बिस्थापित गर्दै पहिलो पटक नेपाली सो स्थानमा निर्वाचित भएका हुन् ।

यस फोरममा एसिया, अफ्रिका, क्यारेबियन, युरोप लगायतका १९ राष्ट्रबाट आएका आप्रवासीहरूको २७ वटा संगठन सदस्य रहेको छ । बेजिंगस्टक डिन बरो काउन्सिल समेतको आर्थिक सहयोगमा संचालित यस फोरमको सन् १७७३ मा बनेको २४७ बर्ष पुरानो आफ्नै भवन रहेको छ ।

करिब २ लाख जनसंख्या मध्ये ९५ प्रतिशत ब्रिटिश गोराहरूको बाहुल्य रहेको यस क्षेत्रमा ५ प्रतिशत ब्लाक अफ्रिकन, एसियन आप्रवासीहरूको बसोबास रहेको छ ।

अफ्रिकन, क्यारेबियन, एसियन तथा अन्य युरोपियन मुलुकबाट आएका बिभिन्न अल्पसंख्यक समुदायहरूलाई सरकारी स्तरमै एउटै छाता मुनि संगठित गर्दै उनीहरूको भाषा, धर्म संस्कृति, सामाजिक तथा शैक्षिक गतिबिधि संचालन गर्ने जिम्मेवारी रहेको यस संस्थाले कल्चरल डाइभर्सिटी, स्थानीय सरकारी निकायहरूसँग नेटवर्किंग गर्दै उनीहरूको जल्दोबल्दो समस्याहरूलाई सम्बोधन गर्ने गर्दछ ।

स्थानीय मेयरको प्रत्यक्ष संलग्नता रहने यस संस्थाले प्रत्येक बर्ष संसारभरबाट आएर यस भेगमा बसोबास गर्ने सम्पूर्ण देश र समुदायको प्रतिनिधित्व रहने गरी वर्ल्ड पार्टी आयोजना गर्ने गर्दछ ।

जसमा एकैपटक १० हजार भन्दा बढी व्यक्तिहरूको सहभागितामा बिभिन्न मुलुकका झाकी र सांकृतिक झलक एबम परिकारको स्वाद लिन पाइन्छ ।

यसरी पहिलोपटक आफ्नो नेपाली समुदायका शिवजी श्रेष्ठ अन्तर्राष्ट्रिय फोरमको अध्यक्षमा निर्वाचित भएकोमा स्थानीय नेपालीहरूको संस्था बेजिंगस्टक नेप्लिज कम्युनिटीले खुशी व्यक्त गरेको छ ।

सो संस्थाका अध्यक्ष ओम गुरुङ तथा महासचिब नवराज राईले आफ्नो संस्थाका सल्लाहकार नै सो अन्तर्राष्ट्रिय फोरमको अध्यक्ष निर्वाचित भएकोमा गौरव लागेको भन्दै संस्थाको तर्फबाट बधाई ज्ञापन गरेका हुन् ।

संस्थाको सचिब पदमा भारतीय मुलका नितिन पाटिल निर्वाचित भएका छन् । त्यसैगरी एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङले पनि यस्ता अन्तर्राष्ट्रिय फोरममा नेपाली नेतृत्व निर्वाचित हुनु सबै नेपालीको लागि गौरव भएको बताइन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संसारभरबाट आएका आप्रवासीहरूको हक हितमा क्रियाशील रहदै नेपालीको नाम उच्च राख्न प्रयास गर्ने बताएका छन् ।