१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाली साहित्य विकास परिषद् यूके २५ वर्षमा, रजत वार्षिकोत्सव मनाइयो

नेपालब्रिटेन डट कम्
२९ असार २०७७, सोमबार ०४:४८

लन्डन। आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा नेपाली साहित्य विकास परिषद्ले रजत वार्षिकोत्सव भरचुअल मध्यमबाट भव्यरुपमा मनाएको छ।

दुइ दिने कार्यक्रमको पहिलो दिन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइतबार बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी (दुबसु क्षेत्री) ले नेपाल विश्व सभ्यताको केन्द्र र विभिन्न जात, जाति, भाषाभाषीको साझा फूलबारीको रुपमा रहेको बताए।

“जीवन्त जातिले देश ज्यूँदो राख्छ, जीवन्त देश विश्व सामु सगर्व उभिन्छ। आज हामी नेपालीहरु भूगोलको सीमा नाघेर १०० भन्दा बढी मुलुक हरुमा छरिएर बसेका छौं । हामी जहाँ बसे पनि नेपाल मन र नेपाली पन जगाएर र जोगाएर बसेका छौं,” उनले भने।

राजदूत डा. सुवेदीले बेलायतस्थित विभिन्न संस्था र समाजहरुका रचनात्मक कार्यले नेपाली डायस्पोरालाई सभ्य र जीवन्त बनाउन मदत गरिरहेको बताए। राजदूत सुवेदीले बेलायतवासी नेपालीहरुलाई नेपालीत्व र नेपालीको अस्तित्व जोगाउन एकजुट हुन आह्वान पनि गरे। उनले नेपाली साहित्य विकास परिषद् यूकेले प्रदान गरेको ‘नेपाली साहित्य विकास परिषद् यूके रजत पदक तथा अभिनन्दन पत्र’ पाउने व्यक्ति तथा संस्थाहरुको नाम पढेर सुनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि पनि रहेका राजदूत सुवेदीले परिषदको साहित्यिक प्रकाशन लालीगुराँसको विशेष रजत स्मारिका, परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको ’फूलको मुस्कान’ गीत संग्रह, कवि गोपाल पराजुलीको कृति ‘अ सोल्जर इन सर्च अफ पिस’ तथा बेलायतलाई कर्मथलो बनाएका सामाजिक व्यक्तित्व सुरेन्द्र नेपाल श्रेष्ठको ‘मेरो आधा शताब्दी’ पुस्तक हरुको विमोचन पनि गरेका थिए।

कार्यक्रमfमा परिषद्का संस्थापक अध्यक्ष सुरेशजंग शाहले बेलायतमा ‘नेपाली साहित्य र नेपाली साहित्य विकास परिषद् यूके’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा परिषद्का सल्लाहकार तथा वरिस्ठ साहित्यकार गोपाल पराजुली, डा. राघव प्रसाद धिताल, खगेन्द्र नेपाली, प्रा. डा. गोविन्द राज भट्टराई, प्रा. डा. खगेन्द्र प्रसाद लुइंटेल, डा माधवी भट्ट लगायतका वक्ताले शुभकामना दिएका थिए । कार्यक्रमको संचालन कृष्ण भट्टले गरेका थिए।

सन् १९९५ जुलाइ १३ का दिन लन्डनमा स्थापना गरिएको नेपाली सहित्य विकास परिषद् यूकेले विसं २०७४ मा नेपालमा पनि शाखा खोलेर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

नेपाली साहित्यको संरक्षण गर्ने उद्देश्यले परिषदले विविध कार्यक्रम गर्दै आएको परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठले बताए । उनले सबै सहयोगदाताहरुलाई धन्यवाद पनि दिए।

सोमबार आदि कवि भानु जयन्तिको अवसरमा बेलायतको समय अनुसार बिहान ११ बजे देखि साहित्यिक कार्यक्रम आयोजना गरिने परिषद्ले जनाएको छ।