१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मोडल प्रतिशाको बेइमानी डेब्यू

नेपालब्रिटेन संवाददाता
२९ असार २०७७, सोमबार ०४:५३

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणसँगै कलाक्षेत्र ठप्प छ । चलचित्रजस्तै मोडलिङ क्षेत्रमा अहिलेको अवस्थामा ठप्प भएको मोडलहरू बताउँछन् । निरन्तर -याम्प फेसन सो र विभिन्न मोडलिङ कार्यक्रममा आफूलाई प्रस्तुत गर्दै आएकी मोडल प्रतिशा रिजाल अहिले पूर्ण रूपमा घरमै बस्नुपरेको बताउँछिन् ।

प्रतिशाले आठ वर्षअघिबाट फेसन सोमार्फत मोडलिङ यात्रा सुरु गरेकी हुन् । यो आठ वर्षमा यी मोडलले थुप्रै -याम्प सो गरिसकेकी छन् । फेसन सोमा आफूलाई प्रस्तुत गर्दागर्दै उनले मोडलको रूपमा म्युजिक भिडियोमा समेत अभिनय गर्न थालेकी छन् ।

धनकुटाकी प्रतिशा सानैदेखि कला क्षेत्रमा आउन चाहन्थिन् । त्यसैले, आफूले सुरुमा मोडलिङलाई नै रोजेको उनले बताएकी छन् । -याम्प सो तथा फेसन सो स्टेजमा गरिन्छ । यस्ता कार्यक्रमहरूमा मानिसको बाक्लो जमघट हुन्छ । तर, अहिले सरकारले कोरोना संक्रमणका कारण १५ जनाभन्दा बढीलाई भेला हुन नदिएपछि मोडलिङ क्षेत्र ठप्प भएको हो । चैतबाटै कोरोना महामारी सुरु भएपछि गएको नयाँ वर्षमा आफ्नो केही फेसन सो तथा -याम्प सोहरु रद्द भएको मोडल प्रतिशाले बताएकी छन् ।

यतिबेला आफ्ना गृहनगर धनकुटामा रमाइरहेकी उनको केही म्युजिक भिडियोको छायांकन रोकिएको थियो, ‘एउटा म्युजिक भिडियोको छायांकन सुरु गर्ने भनेकै दिनबाट लकडाउन घोषणा भयो । त्यो म्युजिक भिडियोको छायांकन म यता भएकै कारण रोकिएको छ भने अरू म्युजिक भिडियोबाट पनि मोडलिङको प्रस्ताव आएको छ ।’ तर, धनकुटाबाट साधनको अभावका कारण अहिले काठमाडौं जान गाह्रो परेको उनले बताएकी छन् ।

भूपेन्द्र न्यौपानेको गीत बेइमानी…बाट उनले म्युजिक भिडियोको मोडलिङ यात्रा थालेकी हुन् । यो गीतको भिडियो रुचाइएपछि आफूलाई म्युजिक भ्युडियोबाट कामको प्रस्ताव आएको उनले बताएकी छन् । आफ्नो म्युजिक भिडियो मोडलिङमा उदाउँदै गरेको करिअरलाई अहिले लकडाउनले असर गरेको मोडल प्रतिशाले बताएकी छन् ।

म्युजिक भिडियो मोडलिङसँगै नेपाली चलचित्रमा नायिकाको रूपमा प्रस्तुत हुने योजना पनि उनले बनाएकी छन् । उनलाई धेरैले नायिकाजस्तो देखिने गरेको प्रतिक्रिया दिने गरेका छन् । पछिल्लो समय प्रतिशा नेपाली चलचित्रका अभिनेत्रीहरूको संगतमा पनि छिन् । कोरोना संक्रमण साम्य भएपछि उनले आफ्नो करिअरलाई नयाँ रूपले अघि बढाउने बताएकी छन् ।
– राजधानी डेलीबाट