१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाका कारण अप्ठ्यारोमा परेका गोर्खाबारे गेसोद्वारा सरकारको ध्यानाकर्षण

नेपालब्रिटेन डट कम्
२९ असार २०७७, सोमबार १९:०३

लण्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई एक ज्ञापनपत्र बुझाएको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर केन्द्रीय अध्यक्ष कृष्णकुमार राई नेतृत्वको गेसो टोलीले ज्ञापनपत्र बुझाएको हो ।

बेलायती सेनाका अवकाशप्राप्त भूपू गोर्खा र उनीहरुका परिवारमा कोरोना महामारीले पुर्याएको असरका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्न परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष राईले बताए ।

महामारीका कारण अफेठेरोमा परेका गोर्खाहरुको सहयोगको लागि सरकारी स्तरबाट पहल गरिदिन समेत मन्त्री ज्ञवालीमार्फत आग्रह गरिएको उनले बताए । परराष्ट्रमन्त्रीसंगको भेटमा गेसोका पदाधिकारीले लकडाउनकै कारण नेपालमै रोकिएका पूर्व गोर्खाहरुको विषयलाई महत्वका साथ उठाएका थिए ।

बिदामा नेपाल गएका गोर्खाहरु तोकिएको समयभित्रै फर्किनुपर्ने बेलायती अध्यागमन नियम रहेको तर लकडाउनका कारण नेपाल गएका गोर्खाहरु फर्किन नपाएपछि समस्या भएकोबारे मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराइएको थियो ।

‘बिदामा नेपाल आएका वृद्धवृद्धाहरु लकडाउनका कारण अन्तरराष्ट्रिय उडानहरु रोकिएपछि फर्किन पाएका छैनन् । जसले गर्दा उनीहरुमा शारीरिक र मानसिक असर समेत परिरहेको छ’ , गेसो अध्यक्ष राईले भने, ‘उनीहरुको लागि सहज वातावरण मिलाउनको लागि सम्बन्धित निकायसंग पहल गरिदिन हामीले सरकारलाई आग्रह गरेका छौं ।’

गेसो प्रतिनिधिहरुसंगको भेटका क्रममा मन्त्री ज्ञवालीले गोर्खाहरुको लागि सहज वतावारण निर्माणमा सरकारका तर्फबाट आवश्यक पहलको आश्वासन दिएका थिए ।