७ बैशाख २०८१, शुक्रबार
Follow Us

कागजात पेश गर्न नसक्दा एनआरएनए टर्की गठन रोकियो

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७७, बिहीबार ०३:२१


प्रकृया पूरा गरेपछि आबद्धता दिने आइसीसीको निर्णय

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्की राष्ट्रिय समिति गठन प्रकृया रोकिएको छ । टर्की नेपाली समाजका अध्यक्षसमेत रहेका उज्वलकुमार घिसिङको अध्यक्षतामा प्रस्तावित १९ सदस्यीय तदर्थ समिति गठनको लागि पदाधिकारीले संघको विधान र एनआरएनको ऐन, बमोजिम कागजात पेश गर्न नसक्दा गठन प्रकृया रोकिएको हो ।

एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गत आइतवार सम्पन्न पदाधिकारी बैठकले संघको विधान अनुरुप कागजात नपुगेकाले सदस्यहरुलाई पुनः कागजात पेश गर्न अवसर दिने र प्रकृया नपुगेका सदस्यहरुलाई तदर्थ समितिको सदस्यको रुपमा मान्यता नदिने निर्णय गरेको थियो। एनआरएनएको विधान र ऐनले विद्यार्थी, अस्थायी भिसा (ट्रान्जिट, पर्यटक) मा रहेकाहरुलाई सदस्यता रुपमा चिन्दैन ।

विधानको दफा ५१ अनुसार गैरआवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक वा दुई वर्षभन्दा बढी सार्क मुलक बाहेकका देशमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिकलाई जनाउँछ । प्रस्तावित समितिको अधिकांश सदस्यले टर्कीमा पेशा, रोजगारी वा व्यवसाय गरी दुई वर्ष बसेको प्रमाण देखाउन सकेका छैनन् ।

गैरआवासीय नेपाली संघको पन्जिकृत सदस्यहरुले समेत आफु विदेशमा दुई वर्ष बसेको प्रमाण र स्थायी ठेगाना संघलाई देखाउनु पर्ने प्रावधान छ । यसअघि गैरआवासीय नेपाली संघ युकेका करिब १३ हजार सदस्यलगायत विश्वभरका ८० हजार सदस्यहरुले आआफ्नो भिसा र ठेगाना पेश गरेर साधारण सदस्यता प्राप्त गरेका थिए ।

टर्कीमा करिब ६ हजार नेपाली रहेको अनुमान छ, तर गैरआवासीय नेपाली संघको मान्यता पाउँ भनेर निवेदन दिने प्राय: सबै अस्थायी भिसामा छन् ।

संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ टर्की राष्ट्रिय समितिको तदर्थ समिति गठन प्रकृयामा रहेको बताए । डा. शर्माले भने हामी जति सक्दो चाडो समिति गठन गर्नुपर्छ भन्नेमा पक्षमा हामी छौं वैधानिक प्रकृया पूरा गरेपछि संघको शाखाले मान्यता पाउँछ ।

टर्कीमा हजारौंको सङ्ख्यामा नेपाली रहेको र हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेपछि संघको गत हप्ता सम्पन्न पदाधिकारी बैठकले आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको थियो ।

टर्कीमा धेरै अवैधानिकरूपमा बस्दै आएका नेपाली छन् । धेरैनेपालीहरु तेस्रो देशमा जानको लागि प्रतिक्षारत रहेको बताइन्छ । संघको कान्छो मध्यको गैरआवासीय नेपाली संघको माल्टा राष्ट्रिय समिति गठनमा प्रयाप्त गृह कार्य नगरेको हुदाँ पदाधिकारीहरु मानव तस्करमा मुछिएपछि नयाँ सदस्य बन्ने देशलाई संघले कडाई गर्न लागेको हो ।