१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अगष्ट ३१ तारिखसम्म अन्तराष्ट्रिय उडान नहुने


२६ श्रावण २०७७, सोमबार २०:२०

सरकारसंग छलफल गर्छौ: एनआरएनए अध्यक्ष पन्त

लण्डन। सरकारले अन्तराष्ट्रिय एवं आन्तरिक उडानमा रोक लगाइरहने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को सोमबार साँझ बसेको बैठकले भदौ १५ गते (३१ अगष्ट) सम्म यातायात र अन्तराष्ट्रिय एवं आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि गत साउन ५ गते बसेको बैठकले १७ अगष्टबाट अन्तराष्ट्रिय एवं आन्तरिक उडान गर्ने निर्णय गरेको थियो ।

कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार यो निर्णय गरिएको हो ।

सरकारको निर्णय पछि विदेशमा बस्ने नेपालीहरुमा पार्ने प्रभावको बारेमा गैरआवासीय नेपाली संघले अध्ययन गरिरहेको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

पन्तले सरकारसंग छलफल गरेर समस्याको समाधान खोज्ने जानकारी सोमवार साँझ नेपालबृटेन डट कमलाई जानकारी दिए ।

भारतबाट आउने नेपालीका लागि पहिले तोकिएको प्रवेश बिन्दु २० लाई घटाएर १० मा झारेको छ ।

यसबाहेक अन्यस्थानबाट छिर्नका लागि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।

यसैगरी भारतबाट कामदार ल्याउन पनि रोक लगाइएको छ । सिमा पार गरेर दैनिक किनमेलको काममा समेत रोक लगाइएको छ ।

बैठकले अन्तराष्ट्रिय सीमामा थप कडाई गर्ने पनि निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारी झन बढेपछि आइतबार बसेको सीसीएमसी बैठकले यातायात र हवाई उडान सुचारू गर्ने समय पछि सार्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।