७ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कुर्दिस्तानमा एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७७, बुधबार २३:१५

बिनाेद श्रेष्ठ । कुर्दिस्तान। वैदेशिक रोजगारीको लागि इराकको कुर्दिस्तान आएका एक नेपाली युवाको मृत्यु भएको छ। कुर्दिस्तान सुलेमानीको फेमिली मलमा कार्यरत दोलखाका ३२ वर्षीय प्रदीप दाहालको मंगलबार मृत्यु भएको हो। उनी नेपाल फर्किने तयारीमा थिए। उनले टिकट पनि लिइसकेका थिए।

मृतक दाहाल बिगत पाँच महिनादेखि बिरामी परेका थिए। उनमा खुट्टा सुन्निने, ज्वरो आउने र शरिर काम्ने जस्ता समस्या देखिएको थियो। बिरामी परेपछि उनी यसअघि नै नेपाल फर्किन चाहेका थिए। तर, लकडानका कारण अन्तर्राष्ट्रिय हवाइ उडान बन्दभएपछि उनी लामो समयदेखि कुर्दिस्तानमै बस्न बाध्य थिए।

उनको सुलेमानी सार हस्पिटलमा उपचार भइरहेको थियो। पछि उनलाई त्यहाँबाट हिवा हस्पिटलमा रिफर गरिएको थियो। उनको उपचारकै क्रममा हिवा हस्पिटलमा मंगलबार बिहानको समयमा मृत्यु भएको हो।

मृतक दाहालले आउँदो १६ अगष्टमा नेपाल फर्किनको लागि फ्लाई दुबईको टिकट काटिसकेका थिए। उनले आफू एक्लै नेपाल फर्किन गाह्रो हुने भएकोले एक जना साथि खोजीदिन पनि आग्रह गरेका थिए। दाहालले गएको २८ जुलाइसम्म कम्पनीमा काम गरेका थिए।