७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली कांग्रेसमा अब कस्तो नेतृत्व आउनुपर्छ ?

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७७, आईतवार ०५:१९

लन्डन । प्रतिपक्ष दल नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको चर्चा यतिबेला देश विदेशमा चुलिएको छ । नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यद्यपि महामन्त्री शसांक कोइराला, डा. शेखर कोइराला, कृष्ण सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको नामसमेतले सञ्चारमाध्यममा चर्चा पाएका छन् । लोकप्रिय युवा नेता गगन थापाले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा गरेछन् । तर, उनलाई धेरैले महामन्त्रीको बलियो दावेदारको रुपमा हेरेका छन् ।

यसै सन्दर्भमा विदेशमा रहेका नेपालीहरुले नेपाली कांग्रेसको कस्तो नेतृत्व हेर्न चाहेका छन् यसै सन्दर्भमा नेपालब्रिटेन डट कमले तयार परेको एक रिपोट ।

दिलबहादुर गुरुङ, जनसम्पर्क समिति युरोप संयोजक
नेपाली कांग्रेसको आसन्न महाधिवेशनले पार्टीलाई नयाँ दिसामा लैजाने विश्वास लिएको छु । महाधिवेशनबाट आएको नेतृत्वले पार्टीभित्रको ४०–६० को भागबण्डाको अन्त्य गर्नुपर्छ । जितेकोले हारेकोलाई सम्मान र सहयोग गर्ने वतावारण बनाउनु पर्छ । गुटउपको अन्त्य गरेर पार्टीका कार्यकर्ताको सही मुल्यांकन गर्ने नेतृत्व आवश्यक छ । कांग्रेसको पुरानो रोग ३६ से ७४ रेको रोग अन्त्य भएको छैन्, त्यसको अन्त्य गर्नसक्ने नेतृत्व आवश्यक छ । सबैले जित्ने सभापतिलाई सहयोग गर्नुपर्छ, जित्नेले सबैलाई समेट्नु पर्छ । एकताको अधिवेशन हुनुपर्छ । सभापतिलाई मात्र दोष दिएर मात्र हुदैन, सबैजना इमान्दार भएर महाधिवेशन सफल पार्नुपर्छ ।

बिजन भट्ट, पूर्व महामन्त्री, जनम्पर्क समिति बेलायत
नेपाल कांग्रेसभित्र क्रान्तिकारी परिवर्तनको आवश्यकता छ । नयाँ अजेन्डासहित पार्टीको पुनर्संचना गर्नसक्ने नेतृत्व अबको आवश्यकता हो । पुरानै ढर्राबाट पार्टी चल्नु हुदैन । पार्टीको सदस्यता वितरण प्रकृयामा समेत समस्या छन् । अहिलेको प्रणाली भनेको आफुलाई भोट दिनेलाई सदस्यता दिने र उनीहरुबाटै नेतृत्व चयन गर्ने खालको छ त्यसलाई पूर्ण रुपमा परिवर्तन गर्नुपर्छ । अब नयाँ कांग्रेसको अवधारणमा अनुसार जानुपर्छ । समाजवादको अजेन्डामा पार्टी अघि बढ्नु पर्छ । यो विषयमा आन्तरिक बहस जरुरी छ । नयाँ पुस्तामा समते भिजनको अभाव देखियो । हामी यो गछौं भन्ने योजनासहित आउनु पर्छ । पार्टीमा बिचार बलियो भए मात्र नेतृत्व बलियो हुन्छ । जनताले अनुभूत हुने गरी कार्यक्रम ल्याउन सक्ने नेतृत्व चयन १४ औं महाधिवेशनले गर्न सकेन भने पार्टी पछि पर्छ । सधैंभरि नेतृत्वमा बस्ने नयाँ कार्यक्रम नदिने अन्त्य गरिनु पर्छ । पटकपटक कांग्रेस सरकारमा जाँदा के गर्यो भन्ने प्रश्न उठ्ने गरेको त्यसैले विकासको नयाँ मोडलसहित नयाँ कांग्रेस बनाएर जनतामा जानुको विकल्प छैन् ।

सुवाश पोखरेल, उपसभापति, जनसम्पर्क समिति बेलायत
नेपाली कांग्रेसको मुल्य र मान्यतालाई आधार बनाएर जानसक्ने सक्षम नेतृत्व हेर्न कार्यकर्ताले चाहेका छन् । नेपाली कांग्रेसले स्थापना कालदेखि निकै ठूला राजनीतिक लडाइँ जितेको छ । कांग्रेसकै नेतृत्वमा देशमा संघीय गणतन्त्रको स्थापना भयो । अब राजनीतिक मुद्दा सकिएपछि प्रमुख विषय भनेको देशको आर्थिक विकास हो । नेपालका दुई छिमेकीले आफ्नो देशको विकासलाई जुन गतिमा अघि बढाएका छन्, त्यो तुलानमा हाम्रो देशपछि छ । त्यसैले नयाँ नेतृत्वसहित देश सुहाउदो विकासको मोडलसहितको नेतृत्व विकास हुनुपर्छ । नेतृत्व भनेको सभापति मात्र महत्वपूर्ण होइन, अन्य पदाधिकारीमा समेत सक्षम नेतृत्व आउनु पर्छ । पार्टी धेरै केन्द्रमुखी भयो तल्लो तहसम्म लैजाने खालको अवधारणा हुनुपर्छ । प्रदेशको भावना अनुरुप चल्ने नेतृत्व आउनु पर्छ । उमेरले होइन विचारले युवाको हातमा नेतृत्व हस्तान्तरण हुनुपर्छ । नेतृत्व हात पार्न पार्टीको परम्परा र ऐतिहासको पनि मुल्यांकन हुनुपर्छ । जस्तो हालका पार्टी सभापति शेरबहादुर देउवा विद्यार्थी राजनीतिबाट अघि बढ्दै देशकै नेतृत्वमा पुग्नु भयो आगामी पुस्ताले समेत उहाँको अनुसरण गर्नु पर्छ । उहाँ पनि युवा हुदै अहिले नेतृत्वमा पुग्नु भएको हो ।

१४औं महाधिवेशनले नेतृत्व मात्र होइन देशकै विकासको मार्गचित्रण गर्ने नीति समेत पास गर्नु छ । नेतृत्वको लागि प्रतिस्पर्धा स्वभाविक हो तर जितेपछि सबैले नेतृत्वलाई सम्मान गर्नु संस्कार विकास हुनुपर्छ । नेतृत्वले पनि आफ्नो चेन अफ कमान्डालाई दुरुस्त र चुस्त राख्न सक्नुपर्छ, अनि मात्र २१औं शताब्दी सुहाउँदो नेतृत्व हुन्छ । आशा गरौं अगामी महाधिवेशनले भागबन्डाको संस्कारलाई पूर्णरुप निस्तेज गर्न सक्ने छ ।

कोपिला सुब्बा, उपसभापति, नेपाली जनसम्पर्क समिति बेलायत

नेपाली कांग्रेसको महाधिबेसनबाट त्यस्तो नेतृत्व छनियो जसले सबै कार्यकर्ताको भावना समेट्ने हो । गुणले भरिपूर्ण भएको नेतृत्वको आवश्यकता रहेको छ । नेतृत्व निस्कलंक र सबै पक्षलाई समेटेर लैजाने हुनुपर्छ । नेपाली कांग्रेसका नेता विपी कोइरालो कल्पना गरेको कांग्रेसको भविष्य निर्धारण गर्नसक्ने नेतृत्व विकास हुनुपर्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजबादको मुल्य र मान्यताको लागि नेतृत्वले सकृयता देखाउनु पर्छ ।

सिंगापुर, मलेसियाका देशमा जस्तो नेता होस्, जसले पार्टी र देशको हितमा टिममा उत्साह, जांगर, विश्वास र भरोसा जगाउने सक्ने हुनुपर्छ । नयाँ पुस्तालाई नेतृत्व दिन सक्ने र आर्थिक र सामाजिक रूपले परिवतन गर्नसक्ने भिजन भएको नेता महाधिवेशनले चुन्नु पर्छ ।