१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन विज्ञ सम्मेलन: विदेशमा बसेका विभाजित नहुनुहोस् – परराष्ट्र मन्त्री ज्ञवाली

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७७, शनिबार १३:११

वासिंगटन डिसी। नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कठिन अवस्थामा पनि स्टार्टअप कम्पनीहरुको हिसावले नेपाल दक्षिण एशियामा दोस्रो बन्न सफल भएको बताएका छन्। उनले नेपालले १४ स्टेप जम्प गरेर मुलुक अघि बढेको जानकारी दिए।

गैरआवासीय नेपाली संघ आईसीसी अमेरिकाज क्षेत्रको सम्मेलन तथा दोस्रो नलेज कन्फरेन्सको आज उद्घाटन गर्दै उनले नेपाललमा नकारात्मक कुरामात्र नभई सकारात्मक धेरै काम भएको भन्दै प्रवासमा बस्ने नेपालीहरुलाई ढुक्कका साथ मुलुकको विकास र प्रगतिमा सहयोगी बन्न आग्रह गरे।

मन्त्री ज्ञवालीले गएका तीन वर्षमा नेपालले राम्रो आर्थिक बृद्धि हासिल गरेको र महामारीको अवस्थामा पनि जिडिपीमा बृद्धि गर्ने संसारका थोरै मुलुकहरुमा नेपाल परेको जानकारी पनि गैरआवासीय नेपालीहरुलाई दिए।

नेपालको राजनीतिक विवादमा तरंगित नहुन गैरआवासीय नेपालीहरुलाई आग्रह गर्दै उनले भने,‘यहाँ झगडा गर्न हामीलाई छोडिदिनुहोस्, यहाँको कुरालाई लिएर त्यहाँ (विदेशमा) विभाजित र तरंगित नहुनुहोस्।’ गैरआवासीय नेपालीहरुलाई नेपाल सरकारले नेपालको विकासमा महत्वपूर्ण साझेदार ठानेको भन्दै उनले विदेशमा हासिल गरेका ज्ञान सीपलाई नेपालको विकासमा जोड्न आग्रह गर्दै भने, ‘हामी तपाईंहरुलाई रातो कार्पेंट राखेर स्वागत गर्न चाहन्छौं।’

उनले गैरआवासीय नेपालीहरुको नलेज कन्फरेन्समार्फत प्राप्त सुझावहरुलाई समन्वय गर्न राष्ट्रिय योजना आयोगमा फोकल पर्सन नै तोकिएको जानकारी दिए। कोरोनाविरुद्धको खोप कसले पहिला बनाउने र कसले पहिला बजारमा ल्याउने भन्ने प्रतिष्पर्धा रहेको विश्वको अवस्थाबारे चर्चा गर्दै उनले विदेशमा बस्ने नेपालीहरुको ज्ञानलाई नेपाल सरकारले उच्च महत्व दिने बताएका थिए।

जुम प्रविधिमार्फत भर्चुअल रुपमा भएको कार्यक्रमको सभापतित्व गर्दै एनआरएन आइसीसीका अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठीले गैरआवासीय नेपाली संघले यसअघि ज्ञान सम्मेलनमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको उत्कृष्ट सुझावहरुलाई सरकारले उपयोग गरे नगरेकोको बारे प्रश्न उठाएका थिए।

कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले नेपालमा सरकार निरंकुशतातिर अघि बढ्दै आन्दोलनका उपलब्धीहरु प्रेससम्बन्धी अधिकार, मानवअधिकार र राष्टिय सुरक्षाका सबाललाई संकुचन गर्न कानुनहरु छलफलमा ल्याएकोले जनताका अधिकार कटौती गर्न नदिन संसारभरका नेपालीले दवाव दिनुपर्ने बताए।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना र गैरआवासीय नेपाल संघ अन्तर्राष्टिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्त लगायतका वक्ताले आआफ्नो धारणा राख्दै विज्ञ भेलाको सफलताको कामना गरेका थिए। ६ तारिकसम्म चल्ने सम्मेलन तथा विज्ञ भेलाले यस क्षेत्रका विज्ञहरुले तयार पारेका विभिन्न कार्यपत्रमाथि छलफल गर्ने र त्यसको निष्कर्ष नेपाल सरकारलाई सुझावको रुपमा पठाउने छ।