१५ चैत्र २०८०, बिहीबार
Follow Us

अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलनमा सिनेमाको बहस

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७७, आईतवार १९:४६

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनमा ‘सिनेमाका लागि नेपाली डायस्पोराको सहभागिता’ विषयक छलफल भएको छ। कार्यक्रममा नेपाली डायस्पोराको अवस्था, चुनौती र अवसरबारे छलफल गरिएको हो। सबै नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्न सक्ने संस्था एनआरएनएले चलचित्र लगानी कोष, चलचित्र पुरस्कार, नेपाली चलचित्र डे तथा छात्र छात्रवृति जस्ता संस्थागत कार्यक्रम गर्न सक्ने छलफल भएको छ।

नेपालबाट निर्देशक नवीन सुब्बा, एनआरएनएका उपाध्यद्वय कृष्ण जेबी पन्त र बुद्धि सुवेदी सहभागी भएका थिए। सहजकर्ताको भूमिकामा थिए– नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइली।

निर्देशक सुब्बाले नेपाली डायस्पोराले जनशक्ति र सिनेमाको संस्थागत संरचना निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। ‘नेपालभित्र रहेका फिल्म कलेज अन्तर्राष्ट्रियस्तरको बन्न सकेका छैनन्। यसमा डायस्पोरा, एनआरएन र अन्य संघ/संस्थाले सघाउन सक्छन्। भौतिक संरचना मात्रै नभएर, सम्भव प्रविधिका लागि पनि काम गर्न सक्छन्। त्यसले नयाँ पुस्ताका फिल्म मेकरलाई उभिप्रेरित गर्छ।’

नेपाली सिनेमाको झण्डै ७ दशक लामो इतिहास सुनाउँदै निर्देशक सुब्बाले भने, ‘कोभिड–१९ अघिसम्म साताका २÷३ वटा फिल्म रिलिज हुन्थे। वर्षमा दुई÷सय हाराहारी चलचित्र बन्थे। तर तिनले अन्तर्राष्ट्रिय छवि निर्माण गर्न सकेका छैनन्। उपस्थिति मात्रै जनाएका छन्।’

एनआरएनए आफ्नै मुद्दामा अल्झिरहेकाले नेपाली सिनेमा हेर्ने काम मात्रै भएको उल्लेख गर्दै एनआरएनए, अमेरिकाका उपाध्यक्ष सुवेदीले अब एनआरएनको अभियानसँगै अमेरिकामा नेपाली सिनेमालाई पनि अघि बढाइने आश्वासन दिए।

‘हामीले सिनेमा मात्रै हेर्यौं। त्यसको विकासबारे बहस गर्न सकेनौं। आउँदा दिनमा जुनसुकै देशमा हुने कार्यक्रममा सिनेमासम्बन्धी छलफल र बहस गरिनेछ,’ उनले भने।

सिनेमा समाजको कथा भएकाले डायस्पोरामा चलचित्रकर्मी सहभागी आवश्यक रहेको कृष्णा जेबी पन्तले बताए। नेपाली भाषा, संस्कृति र कलालाई डायस्पोरामा लैजान निकै छलफल भए पनि संरचनागत विकास नभएको पन्तले स्वीकार गरे।

‘प्रवासमा बस्ने नेपालीले नयाँ पुस्तालाई नेपाली कलालाई पनि परिचय दिने हाम्रो जिम्मेवारी हो। नयाँ पुस्तालाई चिनारी दिनुपर्ने छ। त्यसकारण यसलाई निकै छलफल गर्दै संरचना बनाएर अघि बढ्न आवश्यक छ,’ पन्तले भने।

सिनेमा, सिनेमकर्मीको सवाल मात्रै नभएर समाज विकासको महत्वपूर्ण ‘टुल्स’ भएकाले डायस्पोरामा रहेका नेपालीले सिनेकर्मीलाई सहयोगको भावले मात्रै होइन, समाज विकास गर्न आफ्नै लागि हो भनेर काम गर्नुपर्ने निर्देशक सुब्बाले तर्क गरे।

संस्थागत संरचना बन्यो भने नेपाली सिनेमाले आफ्नो छवि निर्माण गर्न सक्ने र अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाउन सक्ने निर्देशक उनको दाबी छ।

नेपाली आर्ट, सिनेमा म्युजिक अन्तर्राष्ट्रियकरण गर्न आफ्नै कल्चर ट्रान्सफर्मेसन माध्यम भएकाले यो विषय सिनेमाकर्मीको मात्रै नभएर समग्र नेपाली समुदायको भएको सुवेदीले बताए।

उनका अनुसार नेपाली सिनेमाले अन्तर्राष्ट्रिय छवि निर्माण गर्न सकेको छैन। पहिचान र परिचय पनि स्थापित गर्न सकेको छैन। यो विषयमा बहस हुन सक्ला। बजार निर्माण भएको छ। बजारका लागि निर्माण हुने चलचित्रले आफ्नो छवि निर्माण गर्न सकेको छैन।

‘कोरियन चलचित्र क्षेत्र हेर्ने हो भने उसले मानवीय भावना केलाएर रोमान्टिक सिनेमा बनाएको छ। आफ्नो छवि निर्माण गरेको छ। त्यस्तो छवि हामीले निर्माण गर्न सकेका छैनौं,’ उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जनाइरहेका छौं। तर छवि निर्माण गर्न सकेको छैनौं।’

एकतिहाइ नेपाली नेपाल बाहिर छन्। जसलाई सिनेमा बुझाउन नसकिएको निर्देशक सुब्बाले बताए। ‘यदि नेपाली चलचित्रले समाज विकासमा योगदान गर्छ भने डायस्पोरामा पनि नेपाली सिनेमाका लागि केही महत्वपूर्ण काम गर्न आवश्यक छ,’ उनले भने।

फिल्म सोसाइटीका अध्यक्ष एवं छलफलमा सहजकर्ता रहेका पूर्णसिंह बराइलीले सिनेमाको माध्यमबाट नेपाली डायस्पोरालाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण छलफल भएको बताए।

‘पहिलोपटक नेपाली डायस्पोरामा नेपाली सिनेमाबारे छलफल चलाइएको हो। छलफलमा डायस्पोरामा नेपाली सिनेमाको संरचनागत तथा एनआरएनए सिनेमा डेजस्तो महत्वपूर्ण विषयमा छलफल भएको छ। यो कोशेढुंगा साबित हुन्छ भन्ने विश्वास लिएका छौं,’उनले भने।

नेपाल अमेरिका फिल्म सोसाइटीले गैर आवासीय नेपाली संघ (एनआरएनए)अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनमा सिनेमाबारे छलफल गरेको हो। फिल्म सोसाइटी लगायत ७ वटा नोर्थ अमेरिकाका फिल्म फेस्टिवलहरुले यहि अक्टोबर ३ देखि १७ सम्म साउथ अमेरिकाज् क्षेत्रकोएसियन फिल्म फेस्टिवल (कोसाफ)आयोजना हुदैछ।