७ बैशाख २०८१, शुक्रबार
Follow Us

टोरोन्टो घोषणापत्र जारी गर्दै सकियो एनआरएन अमेरीका क्षेत्रीय विज्ञ सम्मेलन (घोषणापत्र सहित)

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७७, सोमबार १६:४२

होमप्रसाद लम्साल ।

शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज् क्षेत्रको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ सम्मेलन आज आईतबार साँझ टोरोन्टो घोषणा पत्र जारी गर्दै सकिएको छ। कार्यक्रमको उद्घाटन परराष्टमन्त्री प्रदिप ज्ञवालीले अनलाईन माध्यमबाट गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिमा भन्दा मातृभुमिको समृद्धिका लागि योगदान गर्न सुझाव दिए।

देशबाहिर रहने नेपालीहरु दलगत राजनीतिमा अल्झिएर समृद्ध नेपाल बनाउने अभियानमा योगदान नपुग्ने जिकीर गर्दै विदेशमा नेपालीपन लिएर मुलुकका लागि योगदान गर्न सुझाए। मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक ऐन कानून निर्माणको प्रक्रिया अनुसार सुनिश्चित गरिने बताए।

जुम प्रविधिबाट गरिएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक पूर्वमन्त्री बालकृष्ण खाँणले नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि देशबाहिर रहने नेपालीको भूमिका र समृद्धिका लागि हुने योगदानका बारेमा चर्चा गर्दै एक पटकको नेपाली सधैँको नेपाली भन्ने पक्षमा काँग्रेस रहेको बताए। मुलुक बाहिर रहेका हरेक गैरआवासीय नेपाली मुलुकका लागि सद्भावनादूत रहेको बताउँदै पूर्वमन्त्री खाँणले नेपालको समृद्धिका लागि एनआरएनको भूमिका र योगदान निकै महत्वपूर्ण हुने उल्लेख गरे।

विभिन्न विषयगत छलफलका क्रममा नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा कृषि तथा पशुपन्छि विकासमन्त्री घनश्याम भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने आश्वासन सुनाए।

विभिन्न फरक विषयगत सत्रहरुमा नेपालबाट विभिन्न राजनीतिक पार्टीका नेताहरु त्था विज्ञका साथै अमेरिकाकका लागि नेपाली राजदुत डा अर्जुन कार्की, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त, एनआरएन अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठी, एनआरएनए अमेरिका क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपीकृष्ण काफ्ले, विज्ञ भेलाका संयोजक डा लक्ष्मी पाठक लगायतले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपाली संघको योगदानको चर्चा गरेका थिए।

विभिन्न सत्रहरुमा भएका वियषयगत छलफलहरुमा विश्वभरीका विभिन्न विषयका ज्ञाता तथा आईसिसिका पदाधिकारीहरु उपाध्यक्ष डा बद्री केसी, सोनाम लामा, महासचिव डा हेमराज शर्मा तथा सचिव गौरी जोशी, आईसिसि सल्लहाकार हरिबोल भण्डारीलगायतको सहभागिता रहेको थियो।

शुक्रबारदेखि तीन दिनसम्म चलेको सम्मेलनको विभिन्न विषयगत कार्यपत्र र विभिन्न सत्रहरुमा छलफलपछि जारी टोरोन्टो घोषणापत्रले समृद्ध नेपाल र गैरआवासिय नेपालीको हक अधिकारमा केन्द्रित रहेको छ। यस्ता क्षेत्रिय स्तरमा हुने सम्मेलन र घोषणापत्रहरु एनआरएनए आइसिसीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने प्रचलन रहँदै आएको छ।