१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल श्रीलंकासँग १ रनले पराजित, भोलि भारतको सामना गर्ने

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७३, बिहीबार १२:४९

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ । विहीबारदेखि श्रीलंकामा सुरु भएको प्रतियोगितामा घरेलु टोलीले नेपालविरुद्ध १ रनको रोमान्चक जित हासिल गर्दै विजयी सुरुआत गर्‍यो । खेलमा २२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित् ५० ओभरको ३ बल सकिनुअघि २२६ रनमा अलआउट भयो ।
९९ बलमा ९० रनको शानदार इनिङ खेल्दै नेपाललाई जितनजिक पुर्‍याएका दीपेन्द्रसिंह ऐरी ‘एलबीडब्लु’ आउट भएपछि नेपाल श्रीलंकाविरुद्ध उसकै मैदानमा ऐतिहासिक जित दर्ता गर्नाबाट चुकेको हो ।
दीपेन्द्रले ९ चौका र १ छक्काको मद्दतमा ९० रन बनाउँदै नेपाललाई जितनजिक पुर्‍याएका थिए । दीपेन्द्रको अलावा नेपालका लागि अविनाश कर्णले ६५ बलमा ४० रन बनाए ।
यस्तै, आदील खानले ६९ बलमा ३९ रन बनाउँदा प्रकाश केसीले १४ तथा भीम सार्कीले ८ रन बनाए । अरु ब्याट्सम्यानहरुमा कमलसिंह ऐरीले ९ तथा सन्दीप लामिछानेले १ रन जोड्दा पवन सर्राफ खाता नखोली आउट भए ।
नेपालले खराब सुरुआत गर्नेक्रममा ओपनर आशिफ शेखलाइ १ तथा सन्दीप सुनारलाई २ रनमा गुमाएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित् ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । नेपालका लागि कमलसिंह ऐरीले ३, पवन सर्राफले २ तथा दीपेन्द्र्रसिंह ऐरीले १ विकेट लिए । नेपालले बाँकी २ विकेट रनआउटमार्फत् लिएको थियो ।
नेपालका कमलसिंह ऐरीले श्रीलंकन ओपनरलाई एलबीडब्लु आउट गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, हासिथा बोयागोडाले ८३ तथा अशेन बान्दाराले ४८ रन बनाउँदै श्रीलंकालाई राम्रो स्थितिमा पुर्‍याए । श्रीलंकाविरुद्ध झिनो पराजय व्यहोरेसँगै नेपालले उमेर समूहको क्रिकेटमा अर्को इतिहास कोर्ने अवसर खेरफालेको छ ।
यसअघि भएका उमेर समूहका विभिन्न प्रतियोगितामा टेस्ट खेल्ने बलिया राष्ट्रहरुलाई पराजित गर्दै ‘जायन्ट किलर’को उपनाम पाएको नेपालले श्रीलंकालाई भने पराजित गर्न सकेको थिएन । पुस ८ गतेसम्म हुने प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा शुक्रबार (भोलि) भारतको सामना गर्नेछ । दोस्रो चरण प्रवेश गर्ने सम्भावना जीवितै राख्न नेपालले भारतलाई हराउनैपर्ने हुन्छ । समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार मलेसियासँग खेल्ने छ । प्रतियोगिताको समूह ‘बी’मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।