१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लिदीका पहिरो पीडितलाई एनआरएनए नेदरल्याण्डको आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७७, मंगलवार ०४:२९

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसिसी) नेदरल्याण्डले सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसीसी नेदरल्याण्डले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहकाबीच संघका केन्दिय उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका हुन्।

उपाध्यक्ष लामाले सोही वडा अध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागि थिए।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरो पीडितहरुको जीवीर्कोपार्जनमा खर्च गरियोस भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताए । संघले यसअघि पनि यही ठाउँमा आएर ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल रिलीज गरि पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न आग्रह गरे ।

वडा अध्यक्ष प्रताप लामाले नेदरल्याण्डबाट सहयोग रकम संकलन गरि पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताए ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्‍याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।

सिन्धुपाल्चोकबासी सिता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्याण्डबाट संकलीत रकम लिदी पठाइएको हो । त्यस्तै, एनआरएनएए नेदरल्याण्डका अध्यक्ष श्रीराम कंडेलले सिन्धुपाल्चोकको लिदि पहिरो पीडितसँगै बाढीपहिरोका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई/दुई लाख राहत सहयोग पठाइसकेको जानकारी गराए ।