१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुख्खायाममा लोडसेडिङ नहोला ?

नेपालब्रिटेन डट कम्
१ पुष २०७३, शुक्रबार १३:५९

काठमाडौं । काठमाडौं उपत्यकामात्र नभई देशभर नै लोडसेडिङ् मुक्त बनाउने अभियान यतिखेर तीव्र गतिमा चलिरहेको छ । तर, एक तिहाई बिजुली उत्पादन घट्ने सुख्खायामको सिजन सुरु भइसक्दा सरकारले घोषणा गरेको लोडसेडिङ् मुक्त अभियानमा झनै चुनौती थपिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनाबाट हाल उत्पादित ३ सय ८९, निजी क्षेत्रबाट २०२ र भारतबाट २१५ मेगावाट प्राधिकरणको केन्द्रिय प्रसारण लाईनमा जोडिएको छ ।
तर, देशभर कुल ८०६ मेगावाट आपूर्ती भइरहेको बिजुलीको तुलनामा माग भने साढे १२ सय मेगावाट भन्दा माथि छ । काठमाडौं उपत्यकामा मात्रै ३ सय मेगावाट विजुलीको माग रहेकोमा तिहारयता काठमाडौं उपत्यका भने चौविसै घण्टा झलमल छ । तर, देशभर ४५० मेगावाट विजुलीको अभाव छ ।
३० प्रतिशतसम्म उत्पादन घट्ने सुख्खायाममा विजुलीको व्यस्थापन गर्नु प्राधिकरणलाई निकै ठूलो चूनौतीसमेत भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारका अनुसार काठमाडौं उपत्यकालाई पूर्ण रुपमा लोडसेडिङ् मुक्त बनाउन सम्भव भए पनि देशका अन्य भागमा लोडसेडिङ् गराउनु पर्ने बाध्यता देखिन्छ । तर, हाल काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि एकदुई घण्टामात्र लोडसेडिङ् गराएको प्राधिकरणले दाबी गरेको छ ।
सख्खायाममा विजुलीको उत्पादन घट्ने भए पनि फागुनको अन्तिमसम्मलाई भारतबाट थप विजुली ल्याएरै भए पनि काठमाडौं उपत्यकालाई लोडसेडिङ् मुक्त बनाउने प्राधिकरणको योजना छ । त्यसका लागि ट्रान्समिसन लाइन र सवस्टेशनको निर्माण, ट्रान्सफर्मर थप, चुहावट नियन्त्रण तथा वितरणमा सुधार गरी संरचनागत व्यवस्थापन गर्न लागि परेको प्राधिकरणले जनाएको छ ।
प्रवक्ता अधिकारीका अनुसार नेपाल विद्युत प्राधिकरण विगतमा उर्जा मन्त्रालय र प्राधिकरणका उच्च कर्मचारीहरुबीच भएको शित युद्धका कारण प्राधिकरणको व्यवस्थापनमा गम्भीर चुनौती देखिएको थियो । तर, हाल सरकारदेखि मन्त्रालयसम्म र प्राधिकरण व्यवस्थापनबाटै प्राधिकरणका योजना कार्यान्वयमा आर्थिकदेखि अन्य सहयोग प्राप्त भइरहेको छ । तर, यस्तो सहयोग दिर्घकालीनसम्म नरहेमा प्राधिकरणले चलाएको लोडसेडिङ मुक्त अभियानमा झनै चुनौती थपिने छ ।
– सीता पोखरेलको रिर्पोट