७ बैशाख २०८१, शुक्रबार
Follow Us

कल्याण गुरुङले काँग्रेस पार्टी सभापति पदमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७७, आईतवार १४:२१

लन्डन । नेपाली काँग्रेसको १४ औं महाअधिवेशन नजिकिदै गर्दा नेतृत्वको लागि रस्कारस्की देखिन थालेको छ । कोभिड–१९ को कहरले मत्थरजस्तो देखिए पनि कांगे्रस महाधिवेशनको तयारी भित्रभित्रै तयारी भइरहेको बुझिएको छ । वर्तमान सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालको लागि पुनः उम्मेदवारी दिने चर्चा चलेसँगै पार्टीका एक केन्द्रीय सदस्यले नेतृत्व नयाँ पुस्ताले पाउनु पर्ने भन्दै सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका पार्टी केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी महाधिवेशनमा युवा पुस्ताको नेतृत्व गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसमा जुझारु र भिजन भएका युवा नेताका रुपमा कल्याणलाई चिनिन्छ । पार्टी फुट्दा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को विद्यार्थी संगठनको निर्वाचित अध्यक्ष बनेका गुरुङ पछिल्लो समय कोइरालाहरुको नजिक मानिन्छन् । अहिले उनी नेपाली काँग्रेसको संगठन संरचना नै परिवर्तन गर्नुपर्छ भन्ने नयाँ अवधारणाका साथ १४ औं अधिवेशनमा प्रस्तुत हुने तयारीमा छन् ।

तराईबाट प्रतिनिधित्व गर्ने गुरुङ १३ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । विशेषतः कांगे्रसको आन्तरिक द्वन्द्व नीति प्रधान हुनुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

१४ औं महाधिवेशमा पार्टी सभापतिको लागि युवा नेताहरु गगन थापादेखि अर्जुननरसिहं केसी, शेखर कोइराला, सशांक कोइराला, प्रकाशमान सिंह लगायतले दावी प्रस्तुत गरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन आगामी फाल्गुण महिनाको लागि तय गरिएको छ । कोभिड–१९ को प्रभावको कारणले अर्को बर्षको भाद्र महिनामा सर्ने आशंका समेत गरिएको हो ।