१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोना संक्रमण बिरुद्ध बेलायतमा कर्फ्यू घोषणा

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७७, मंगलवार १६:०७

लण्डन । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि बेलायत सरकारले नयाँ योजना सार्वजनिक गरेको छ । संसदमा आज अपरान्ह ती योजना प्रस्तुत गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल नियन्त्रणका लागि सचेत हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले सम्भव भए घरबाटै काम गर्न कामदारहरुलाई अनुरोध गरेका छन् । यस्तै अनिवार्य मास्क लगाउनुपर्ने तथा रुल अफ सिक्स अर्थात ६ जनामात्र भेला हुन पाउने नियम कडाईका साथ पालना गर्न भनिएको छ ।

नियम उल्लंघन गरेमा २ सय पाउण्डसम्म जरिवाना गरिने बताइएको छ । यस्तै इङल्याण्डमा बारका कर्मचारी, पसलका कामदार, रेस्टुरेन्टका वेटर , ट्याक्सी ड्राइभरहरुले अनिवार्य मास्क लगाउनुपर्नेछ । पव, रेस्टुरेन्टहरुमा राति १० बजेदेखि कर्फ्यू घोषणा गरिएको छ ।

यो नियम पर्सी बिहिबारदेखि नै लागू हुनेछ । यसअघि वैवाहिक समारोहमा ३० जना उपस्थित हुन पाउने नियम संशोधन गरी १५ जनासम्मको सीमा तोकिएको छ । अन्तिम संस्कारमा भने ३० जनालाई नै भेला हुन दिइने भएको जनाइएको छ । नयाँ प्रावधानहरु ६ महिनासम्म रहन सक्ने बताइएको छ ।

संक्रमण नियन्त्रणमा लागि आवश्यक परे सेना परिचालन सम्म गर्न सकिने जनाइएको छ । प्रधानमन्त्री जोन्सनले थप प्रावधानहरु सहित स्थानीय समयअनुसार आज राति ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।