१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए युके निःशुल्क सदस्यता र अनलाइन मतदानमा जान्छ: अध्यक्ष, पुनम गुरुङ्ग (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७७, मंगलवार १९:३०

लण्डन । गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्गले निःशुल्क सदस्यता वितरण र अनलाइन भोटिङ्ग बारे आफ्ना धारणाहरु सार्वजनिक गरेकी छन् ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले मंगलवार गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष गुरुङ्गले संघले प्रस्ताव गरेको निःशुल्क सदस्यता र अनलाइन भोटिङ्ग सम्वन्धी प्रस्ताव स्वागत योग्यकदम भएको बताइन् ।
उनले आइसीसीको प्रस्तावका बारेमा संघको औपचारिक बैठकमा छलफल गर्न बाँकी रहेको बताउँदै गैरआवासीय नेपाली संघ यूकेले केन्द्रको प्रस्तावमा समर्थन गर्ने बताइन् । उनले संघको प्रस्तावलाई सहयोग गर्नु पर्ने राष्ट्रिय समिति (एनसीसी) को कर्तव्य रहेको बताइन् ।

उनले काम गर्दै जादा पक्ष र विपक्ष हुनु स्वभाविक हुने भन्दै केन्द्रको प्रस्तावलाई समर्थन गरेर अघि बढ्नु पर्ने बताइन् ।

गुरुङ्गले अनलाइन मतदान सम्वन्धी प्रस्तावमा टेक्नोलोजिमा जानुको विकल्प नभएको बताइन् । गुरुङ्गले भनिन् टोक्नोलोजिको प्रयोग गर्नु पर्छ गरिएन भने हामी पछि पर्छौ ।

कार्यक्रममा बोल्दै आइसीसी सदस्य राजु अर्यालले गैरआवासीय नेपाली संघको निर्वाचनमा टेक्नोलोजिको प्रयोग गरेर अनलाइन भोटिङ्ग सिस्टममा जानु पर्नेमा जोड दिए ।

गैरआवासीय नेपाली संघ युकेमा १३ हजार भन्दा बढी पन्जिकृत सदस्य छन् । उनीहरुबाट गत निर्वाचनमा संकलन भएको सदस्यता शुल्क करिब १ लाख २० हजार पाउण्ड निर्वाचन परियोजनमा खर्चिएको थियो ।