१५ चैत्र २०८०, बिहीबार
Follow Us

सांगीतिक माहोलमा रत्तदान गर्न प्रेरित गर्दै इन्दिरा जोशी

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७७, बिहीबार ०२:४५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व ज्ञान सम्मेलनमा नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका इन्दिरा जोशीले गीत सुनाउँदै रत्तदानका लागि पे्ररित गरेकी थिइन । सांगीतिक माहोलमा रक्तदानका लागि प्रेरित गर्ने उक्त कार्यक्रममा नेपालमा रगतको अभावले भौतिारिएका सेवाग्राहीको वास्तविक पीडाको वृत्तचित्रमार्फत् उजागर गरिएको थियो । गायिका जोशी एनआरएनए रक्तदान गुडविल सद्भावना दूतसमेत हुन् ।

कार्यक्रममा जोशीले भनिन्, ‘हो, म रक्तदाता हुँ, र अरुलाई पनि रक्तदान गर्ने बानी बसाल्नुहोस् । एकजना व्यक्तिले गरेको रक्तदानबाट तीनजनासम्मको ज्यान बचाउन सकिन्छ ।’ रक्तदाता भनेका जीवन बचाउनेहरु हुने, त्यसैले रक्तदान गर्न आग्रह गर्छु, इन्दिराले भनिन् ।

यदि तिमीमा भएको ऊर्जा उज्यालो छर्न वा राम्रो काममा प्रयोग गर्दैनौं भने यो जीवनको के महत्व भयो र ?’ त्यसैले अरुको जीवन बचाउन चाहनु हुन्छ भने रक्तदान गर्नुस् र आफ्नो जीवनलाई उद्देश्यमूलक बनाउनुस् भन्दै इन्दराले भर्खर रिलिज भएको नयाँ गीत ‘निभाएर सेलाइ दे मनको दिप तेरो, किन जल्छस तँ जब मेट्नु छैन अँध्यारो’ शीर्ष बोलको गीतबाट सांगीतिक माहोल सिर्जना गरेकी थिइन् ।

भावनात्मक प्रस्तुतिपछि इन्दिराले रोमान्टिक गीतको सुरुवात गरेकी थिइन् । अधिकांश गीतहरुमा महिलाको सुन्दरताको व्याख्या हुन्छ, तर पुरुषहरु पनि आफ्नै विशेषता हुन्छ, महिलाहरुलाई मनपर्ने पुरुषका विशेष गुणबारे व्याख्या गरिएको ‘कति रोमान्टिक छौं’ शीर्ष बोलको गीत गाएकी थिइन् ।

गायिका इन्दिराले बीचबीचमा रक्तदानको महत्वबारे प्रवचन दिएकी थिइन् । एकदमै मीठो स्वरमा उनले रक्तदान गर्न सर्वसाधारणलाई पे्ररित गरेकी थिइन् । एउटा सानो सहयोगले कसैले जीवन पाउँछ भने किन रक्तदान नगर्ने भन्दै इन्दिराले भनिन, ‘कसैको जीवन बचाउन सकियो भने आफ्नो जीवन पनि सुन्दर देखिँदै जाँदो रहेछ ।’

‘अनिकाल नै लाग्न रहेछ हो कि पानी नै दर्किएन’ शीर्ष बोलको गीतले कार्यक्रममा इन्दिराको सांगीतिक माहोललाई तताएको थियो । यस्तै दर्जनौं गीत गाएकी इन्दिराले दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् ।

कार्यक्रमको बीच बीचमा नेपालमा रगत अभावको वास्तविकता, यसमा हुने राजनीति र व्यवहारिक कठिनाइको वृत्तचित्र प्रस्तुत गरिएका थिए । यस्तै भरतपुर क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगतसँग सम्बन्धित कार्यक्रममा नेपाल सरकारले अहिलेसम्म कुनै आर्थिक सहयोग उपलब्ध नगराएको तीतो यथार्थ सुनाए ।

रक्त सञ्चार सेवाका लागि त्यसैले न्यून शुल्क लिनुपरेको भन्दै प्रमुख पौडेलले भने, ‘विश्वभर रगतको मूल्य निःशुल्क छ, हामीकहाँ पनि निःशुल्क नै हो । तर एचआइभी, हेपाटाइटिस परीक्षण, ब्लड ब्याग र समूह छुटाउने, क्रस म्याचिङ र व्यवस्थापकीय खर्चका लागि मात्र नेपाल रेडक्रस सोसाइटीले केही शुल्क लिन गरेको हो, यो सेवा शुल्क हो, रगतको मूल्य होइन ।’

विश्वमै रगत किन्न पाइँदैन, कानुनले नै प्रतिबन्ध लगाएको छ । हामीकहाँ लाग्ने सेवा शुल्क राज्यले अनुदान नदिएको हुँदा रेडक्रस सोसाइटीले न्यून शुल्क लिएको अध्यक्ष पौडेलले बताए । उनले भने, ‘लागतका आधारमा नेपाल रेडक्रस सोसाइटीले मूल्य निर्धारण गरेको हुनाले यसलाई अन्यथा नबुझिदिन आग्रह गर्दछु ।’

कार्यक्रममा डा. अपूर्व कोइरालाले रगतदानसम्बन्धी पाँचवटा गलत धारणाबारे बोलेका थिए । सुईसँग डराउनेभन्दा राम्रो काम गरिरहेको छु भन्ने धारणा बनाउन उनले आग्रह गरे । कुनै विशेष समूहले मात्र होइन, रक्तदान सबैले गर्नुपर्छ । टाटु भएको मान्छेले पनि रत्तदान गर्न पाउँछ । तर मान्यताप्राप्त पार्लरमा टाटु खोपेको लाइसेन्स हुनुपर्छ । अभावका बेलामात्र रक्तदान गर्ने होइन, पहिले नै रत्तदान गरेर राख्दा एकदमै राम्रो हुने र चुरोट सेवन गर्ने व्यक्तिले पनि रक्तदान गर्न हुने तर रक्तदान गरेको ३ घन्टासम्म चुरोट सेवन गर्न नहुने डा. कोइरालाले बताए ।

‘रक्तदान के हो र किन आवश्यक छ भन्ने कुरा मान्छेले एक पटक रगतको समस्या झेल्छ वा व्यहोर्छ त्यसपछि मात्र उसलाई महसुस हुन्छ’ नेपाल थालासिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठकले भने, ‘रक्तदानभन्दा ठूलो यो संसारमा अर्को दान हुँदैन ।’