१३ बैशाख २०८१, बिहीबार
Follow Us

कुँवेतमा भारतीय युवाद्वारा नेपाली प्रेमिकाको हत्या

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७७, बिहीबार ११:०४

लण्डन । आफूबाहेक अर्को एक युवकसँग पनि प्रेम सम्बन्ध रहेको भन्दै एक भारतीय युवाले नेपाली युवतीको हत्या गरेका छन् । कुवेतको राजधानी कुवेत सिटीमा ती भारतीयमाथि ईर्ष्यावश प्रेमिकाको हत्या गरेको अभियोगमा मुद्दा चलाइएको अल अन्बा दैनिकको रिपोर्ट उद्धृत गर्दै अरब टाइम्स अनलाइनले लेखेको छ ।

क्रिमिनल इभिडेन्सेज डिपार्टमेन्टका एक अधिकारीलाई उदृत गर्दै प्रकाशित समाचारमा ती युवाले आफ्नी प्रेमिकाको अर्कैसँग सम्बन्ध रहेको आशंका गरेको र यही विषयमा झगडा भएपछि उनले प्रेमिकाको अनुहारमा सिरानीले थिचेर हत्या गरेका थिए । भवनका सुरक्षा गार्डले दिएको सूचनाका आधारमा पुलिस र मेडिकल टिम घटनास्थल पुग्दा प्रथम दृष्टिमा युवतीको मृत्यु सामान्य देखिएको थियो किनकि उनको शरीरमा कुनै चोटपटक थिएन ।

एक छिमेकीले आफूले त्यो अपार्टमेन्टमा झगडा भएको आवाज सुनेको बताएका थिए । केही समयपछि एक व्यक्तिलाई बिल्डिङको कम्पाउण्डभित्र चुरोट पिउँदै गरेको देखिएपछि ती शंकास्पद व्यक्तिलाई हिरासतमा लिइएको छ । पुलिसले उनको हातमा केही चिथोरिएका चोटहरु पाएको थियो । यी चोटहरु हत्या गर्ने क्रममा पीडितले प्रतिरोध गर्दा लागेको अनुमान गरिएको थियो ।

पुलिसको सोधपुछको क्रममा ती व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेका छन् । उनलाई अदालतमा पेश गरेर अनुसन्धानको लागि थप समय लिइएको छ र उनीविरुद्ध नियोजित हत्याको अभियोग लगाइएको छ । मृतक नेपाली लमजुङकी जमुना विक भएको बताइएको छ । उनी केही समयअघि भारतको अवैध बाटो हुँदै कुवेत पुगेको बुझिएको छ । हत्या गर्ने भारतीयको पहिचान खुलाइएको छैन ।