१२ बैशाख २०८१, बुधबार
Follow Us

एमालेले बाध्यताले संघीयता स्वीकार गरेको हो : उपाध्यक्ष गौतम

नेपालब्रिटेन डट कम्
६ पुष २०७३, बुधबार १२:४७

काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले एमालेले संसद अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । एमालेका कारण संसदीय, लोकतान्त्रिक र संवैधानिक प्रक्रिया रोकिएको भन्दै मन्त्री निधिले ‘राष्ट्रहित’ विपरितका गतिविधि नगर्न आग्रह पनि गरे । प्रदेश विभाजनको प्रस्तावविरुद्ध आन्दोलित गुल्मी पुगेका उनले त्यहाँ आयोजित शोकसभामा एमालेको लहै–लहैमा लागेर आन्दोलनमा नउत्रिन र पार्टी निर्णय इमान्दार बनेर कार्यान्वयन लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए । त्यस्तै, शोकसभामा रक्षामन्त्री बालकृष्ण खाँडले देशका गम्भीर मुद्दामा एमालेले बढि राजनीतिकरण गरेको र उसको राष्ट्रवादी नारा नक्कली रहेको आरोप लगाएका थिए ।।

बामदेव गौतम
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफ्नो पार्टीले बाध्य भएर मात्रै संघीयता स्वीकारेको बताएका छन् । मंगलादेवी स्मृति प्रतिष्ठानद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले युद्धलाई शान्तिमा रुपान्तरण गर्न संघीयता स्वीकार गरिएको तर त्यही संघीयता विखण्डनको कारण बन्ने खतरा रहेको बताएका हुन् । उपाध्यक्ष गौतमले प्रदेशको सीमांकन छुट्टाउने अधिकार संसद र सरकारलाई नभएको जिकीर पनि गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयमा सबै दल एकजुट हुनुको विकल्प नरहेको दोहो-याउँदा नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले संविधान कार्यान्वयन नभए प्राप्त राजनीतिक उपलब्धी गुम्न सक्ने औल्याइन् ।
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन अनिवार्य रहेको भन्दै नागरिकता पाउन पनि मधेसीले आन्दोलन गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे।

कमल थापा भनाइ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदको अबरोध हटाउन संविधान संशोधन प्रस्ताव स्थगित गर्नुपर्ने बताएका छन् । राप्रपाको मध्याअञ्चल क्षेत्रीय भेलाको आज भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष थापाले मधेसी मोर्चालाई समेत सन्तुष्ट बनाउन नसकेको र प्रमुख प्रतिपक्षी एमालेलाई चिढ्याउने विधेयक स्थगित गरी दलीय सहमति जुटाउन नयाँ शिराबाट छलफल गर्नुपर्ने बताएका हुन् । थापाले एमालेलाई संसदीय प्रक्रियामा आउन सुझाव पनि दिए ।
अध्यक्ष थापाले महाधिवेशनपछि हिन्दू राज्यबारे जनमत संग्रहका लागि दबावमूलक अभियान चलाउने जानकारी पनि दिए । कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले नागरिकता र भाषा बाहेकका विषयमा कुरा मिले पनि चुनावी मुद्दा बनाउने अभिप्रायले एमाले र मधेसी मोर्चाले अडान लिइरहेको आरोप लगाएका थिए ।