७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डन दूतावासमा नेपाली साहित्य महोत्सव (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७७, मंगलवार ०८:२८

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्तीको अवसरमा लन्डनस्थित नेपाली दूतावासले आइतबार ‘नेपाली साहित्य महोत्सव’ आयोजना गरयो । तीन चरणमा सञ्चालित कार्यक्रममा कृति विमोचन, कार्यपत्रहरुको प्रस्तुति र काव्य गोष्ठी समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रा डा माइकल हट, सम्मानित अतिथिका रुपमा प्रा. डा. सूर्यप्रसाद सुवेदी तथा विशिष्ट अतिथिका रुपमा साहित्यकारहरु सुरेशजंग शाह, लक्ष्मी राई ‘लारा’ र गोपी सापकोटाको सहभागिता थियो ।

कार्यक्रम उद्घाटनपछि अतिथिहरुलाई स्वागत गर्दै राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रमको पहिलो चरणमा बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचना सम्मिलित राजदूत डा सुवेदी (दुवसु क्षेत्री) द्वारा सम्पादित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’ को बेलायतमा नेपाली साहित्य विशेषांक १ र २ लोकार्पण गरिएको थियो ।

दोस्रो चरणमा प्रमुख अतिथि प्रा डा माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमबारे चर्चा गरे । उनले नेपालका वरिष्ठ कवि तथा साहित्यकारहरुको योगदानबारे बोल्दै उनीहरुका सिर्जना वाचन गरी सुनाए । लण्डनस्थित ‘स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडीज’ बाट पिएचडी गरी सोही विश्वविद्यालयको ‘नेपाली एण्ड हिमालयन स्टडीज’ विभागमा रहेर नेपाली भाषा, साहित्यको अध्यापन गरेका डा हट अहिले अवकाश लिइसकेका छन् ।

कोटाले नेपाली भाषा तथा साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरे । कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाली साहित्य विकास परिषद् बेलायतका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरे । त्यसैगरी विशिष्ट अतिथि एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायतकी अध्यक्ष लक्ष्मी राई ‘लारा’ ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराइन् ।

विशिष्ट अतिथि एवं कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रमको तेस्रो चरणमा बेलायत लगायत, यूरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुका कविता, गीत, मुक्तक वाचनसहित ‘काव्य गोष्ठी’ गरियो । कार्यक्रममा बेलायतमा रहेका लोकप्रिय बाँसुरी समूह र कलाकारहरु सेमन्त राई, भरत लोहारुङ र सुरेन्द्र इङ्नामले बाँसुरीवादन, कलाकारहरु डम्बर सिंह ‘प्रयास’ र मनोज अन्जानले सारङ्गीवादन एवं कलाकार प्रमोद शर्माले गायन प्रस्तुत गरे ।

कार्यक्रमको अध्यक्षता राजदूत डा. सुवेदीले गरेका थिए भने सञ्चालन दूतावासकी उपनियोग प्रमुख काउन्सेलर रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपालले गरेका थिए ।