८ बैशाख २०८१, शनिबार
Follow Us

पार्टी एकतामा जोड दिन प्रवासी नेपाली एकता मञ्च बेलायतको आग्रह

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७७, बुधबार १६:१९

लण्डन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बेलायतस्थित संगठन प्रवासी नेपाली एकता मञ्च बेलायतले शीर्ष नेताहरुकै कारण पार्टी एकता संकटमा परेको निश्कर्ष निकालेको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले बुधबार एक वक्तव्य जारी गर्दै आम कार्यकर्ता र जनताको भावनालाई कदर गर्दै एकताप्रति प्रतिबद्ध रहन नेतृत्वलाई आव्हान गरेका छन् ।

पार्टी एकता कमजोर बनेका बेला आरोप-प्रत्यारोपमा नउत्रिन समेत मञ्च कार्यकर्ताहरुलाई आव्हान गरिएको छ । ‘नेपालका दुई ठूला र महत्त्वपूर्ण कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र एनेकपा माओवादीको बीचमा भएको ऐतिहासिक एकतापश्चात् आम नेपाली जनता र समाजवादी समाजको सपना देख्नेहरूको जीवनमा आएको खुशियाली पनि अभूतपूर्व थियो’ वक्तव्यमा भनिएको छ, ‘तर, नेकपाका शीर्ष तहमा रहेका भनिएका नेताहरूकै कारण निकट विगतको त्यो खुशियाली धेरै समय टिकिरहन सकेन ।’

शीर्ष तहकै पुराना नेताहरुको व्यवहारका कारण पार्टी एकता र दुई तिहाई बहुमतको सरकार क्रमशः कमजोर हुँदै गइरहेको मञ्चको ठहर छ ।

वक्तव्यको पूरा पाठ :

कमरेडहरू,

अभिवादन ।

नेपालका दुई ठूला र महत्त्वपूर्ण कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र एनेकपा माओवादीको बीचमा भएको ऐतिहासिक एकतापश्चात् आम नेपाली जनता र समाजवादी समाजको सपना देख्नेहरूको जीवनमा आएको खुशियाली पनि अभूतपूर्व थियो । तर, नेकपाका शीर्ष तहमा रहेका भनिएका नेताहरूकै कारण निकट विगतको त्यो खुशियाली धेरै समय टिकिरहन सकेन । शीर्ष तहकै पुराना नेताहरुको व्यवहारका कारण पार्टी एकता र दुई तिहाई बहुमतको सरकार क्रमशः कमजोर हुँदै गइरहेको कुरा जनता सामु छर्लङ्गै छ ।

खास गरेर कोभिड(१९) को चपेटापछि नेपालको कम्युनिस्ट आन्दोलनलाई नै प्रश्न उठ्ने गरी पार्टीको माथिल्लो निकायमा भैरहेको बिधि, पद्दति, संस्कार र अनुशासनहिन क्रियाकलापले सम्पूर्ण पार्टीपंक्ति नै सिथिल छ । यससँगै पार्टी नेताहरु आग्रह–पूर्वाग्रहमिश्रित गुटगत गतिबिधि, अनुशासनहीनता र व्यक्तिगत तावेदारीमा तल्लीन देखिएका छन् । यतिबेला ‘सर्प देख्दा दुलो बाहिर हात, माछा देख्दा दुलो भित्र हात’ भन्ने नेपाली उखानसँग मिल्दोजुल्दो भएको छ कार्यकर्ताहरूको मनोविज्ञान । गुट र व्यक्तिकेन्द्रित फाइदामा भासिएर लामो समय एउटै आन्दोलनमा सरिक कमरेडहरू निम्न स्तरको गालीगलौजमा उत्रिएका छन् । पार्टीका जिम्मेवार कामरेडहरुले सामाजिक सञ्जाल, सार्वजनिक मन्तव्य र पार्टीका फोरम समेतमा नराम्ररी आफ्नो सक्कली अनुहार देखाइ रहेका छन् । विगतमा स्तुतिगान, गुट र चाकडीकै भरमा जिम्मेवारी हासिल गरेका साथीहरू पछिल्लो समयमा अझ बढी उत्तेजित भएर गुटको पहरेदारी गर्दै पार्टी एकताविरूद्ध विषवमन् गरिरहेका छन् ।
यसले जनता र तल्लो तहका कार्यकर्ताहरुमा विभाजनको रेखा झन् कोरिने र निराशा उत्पन्न हुने स्थिति आउँछ । आम नेपाली जनताले बुझेजस्तै हाम्रो पार्टी नेकपा अहिले चरम संकटको अवस्थामा आइपुगेको छ । कम्युनिष्ट पार्टीमा विचारको वहस हुन्छ र हुनुपर्छ । तर हाम्रो पार्टीमा यो समयमा विचारको वहस छैन । समस्या छ त केवल पार्टीको विधि, रणनीति र कार्यनीति भन्दा बाहिर नेताहरुको व्यवस्थापनमा । कसले भागबण्डामा के पाउने भन्ने लडाईं यसरी छरपस्ट भएको छ, मानौं हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन गर्न आतुर माफिया हुन् । यो आत्मकेन्द्रित भागबण्डाको लडाईंमा पनि खराब पक्षलाई नै पुरानो नेतृत्वले हर्ताकर्ता बनाएको छ । पार्टी भित्र विचौलियातन्त्र हाबी भएको छ, उच्च निकायका नेताहरू सरकार र पार्टी दुबैतिर निर्णायक भूमिकामा छन् । उनीहरुका क्रियाकलापले कार्यकता र शुभेच्छुकहरुलाई झन् उत्तेजनामा ल्याइरहेको छ, पार्टीको समस्या झन् बढाइरहेको छ । नयाँ जोश, जाँगर, विचार र नेतृत्वका पक्षमा वहस गर्नुपर्ने ठाउँमा कार्यकर्तालाई हनुमाने शैलीमा रक्षाकवच बनाइएको छ ।

कमरेडहरु,

यहाँ नेर संसारकै मेहनती जातमा गनिने कमिलाको प्रकृतिको एउटा उदाहरण उपयुक्त हुन्छ । एउटा काँचको ठुलो सिसी भित्र १००-१०० वटा राता र काला कमिला राखेर हेरौं । त्यहाँ केही पनि नराम्रो हुँदैन, दुवै जातका कमिला मिलेरै बसेका हुन्छन् । तर, त्यो सिसी हातमा लिएर मान्छेले एक पटक मात्र जथाभावी हल्लाएर टेबुलमा राखिदिएमा स्थिति ठीक उल्टो हुन्छ । त्यहाँ काला र राता कमिला एक आपसमा लडाईं शुरू गर्छन्, सकेसम्म एउटाले अर्कोलाई मार्न थाल्नेछन् । रातो कमिलाले कालोलाई र कालो कमिलाले रातोलाई शत्रु ठान्नेछन् । बिचराहरूलाई आफ्नो शत्रु काँचको भाँडो हल्लाउने मानिस हो भन्ने पनि थाहा हुँदैन । अहिले हाम्रो समाज र पार्टीको हकमा पनि यही तीतो सत्य लागू भएको छ । मुलुकमा एक जातिबिरूद्ध अर्को जाति, एक पार्टीविरूद्ध अर्को पार्टी अनि अझ हाम्रो पार्टीको हकमा चाहीँ एउटा गुटविरूद्ध अर्को गुट प्रयोग भइरहेका छन् । हामीलाई दलाल पुँजीवादले एउटा बन्द सिसी भित्र राखेर यसरी नै हल्लाइरहेको छ ।

कमरेडहरू !

हामीले यति बेला यसरी एक आपसमा लड्नु भन्दा पहिला त्यो सिसी हल्लाउने दलाल पुँजीबादको नोकरको पहिचान गर्न जरुरी छ । कमरेडहरु यो घडीमा हामी सावधानी अपनाऔं, संयमित होऔं र नआत्तिऔं । नबहकिऔं र अरुलाई पनि नबहकाऔं । पार्टी एकताको मर्मलाई ध्यान दिँदै समाजवादमा पुग्ने नेपाली जनताको सपनाको कदर गरौं । आफ्नै गौरवपूर्ण विगतको कदर गर्दै सचेत हुनुपर्ने यो जटिल समयमा एक आपसमा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई संकेत गरेर सामाजिक सञ्जाल र कुनै पनि संचार माध्यमहरुमा अभिव्यक्ति नदिन प्रवासी नेपाली एकता मञ्च युकेका सदस्य एवम् शुभचिन्तकहरूलाई सचेत रहन आग्रह गर्न चाहन्छौं।

न्यानो अभिवादनसहित,

राजेन्द्र पुडासैनी

अध्यक्ष

सुरेश गौतम

सचिव