८ बैशाख २०८१, शनिबार
Follow Us

जर्मनीमा बन्चरो प्रहारबाट एक नेपाली घाइते

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७७, बिहीबार २२:२०


दीपक धिताल
। जर्मनी । जर्मनीको ह्यामवर्गस्थित बर्गेडोर्फमा नेपालीहरुबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहारबाट बुधबार एक नेपाली गम्भीर घाइते भएका छन् । आर्थिक विषयलाई लिएर केहि समय पहिलेदेखि व्यवसायिक साझेदार ४५ बर्षिय हरि विष्ट र ५३ बर्षिय कृष्ण केसी भनिने विजय खड्काबीच विवाद चलिरहेको निकष्टस्थहरु बताउँछन् । सोही विवादका क्रममा बुधबार छलफल गर्न भन्दै खड्का ३७ बर्षिय श्रीमती नितु केसी सहित विष्टको घरमा पुगेका थिए ।

घरको ढोकामा खड्का र विष्टबीच विवाद बढ्दै गएपछि विष्टले खड्काकी श्रीमतीलाई मुक्का प्रहार गरे । मुक्का प्रहारबाट उनी तत्कालै बेहोस भएर भुईमा ढलेकी थिइन् । त्यस लगत्तै विष्टले खड्कालाई भान्छामा मासु काट्न प्रयोग हुने बन्चरोले हानेपछि टाउकोमा गम्भीर चोट लागेको थियो ।

बन्चरो प्रहारबाट खड्काको टाउकोबाट गहिरो चोट लागेर रगत बगेपछि आक्रमणकारी बिष्ट भागेका थिए ।घाइते खड्काको तत्काल उद्धार गरी टाउकाको तुरुन्त शल्यक्रिया गरिएको प्रहरीलाई उद्धृत गर्दै जर्मन सन्चार माध्यमहरुले जनाएका छन् । शल्यक्रियापछि अपरेशन कक्षबाट विहिबार उनलाई सामान्य वार्डमा सारिएको र अवस्था सुधारोन्मुख रहेको खड्काका आफन्तजनले बताएका छन् । घटनापछि प्रहरीको ११ ओटा कार, तालिमप्राप्त कुकुर र हेलिकप्टरबाट फरार बिष्टको खोजि चलेको थियो । तर घटना भएको करिब ४ घण्टापछि आक्रमणकारी बिष्टले स्वयम् प्रहरी सामू आत्मसमर्पण गरेका थिए ।

प्रहरीले अहिले अभियोगी विष्टलाई अदालतमा पेस गरेको छ बाँकी अनुसन्धान चलिरहेको जनाएको छ । ह्यामवर्गमा सुसीे रेष्टुरेण्ट चलाएर बसेका खड्का र विष्टबीच लेनदेनको विषयमा पुरानो विवाद चलिरहेको थियो । केहि समय पहिले नेपालीहरुको एक जमघटमा आफुलाई खड्काले पैसा दिनुपर्ने तर जति माग्दा पनि नदिएकाले अब सामाजिक सन्जाल मार्फत बेइज्जत हुने गरी लेख्छु भन्दै विष्ट आक्रोसित भएका थिए । बिष्ट केही समय पहिला स्पेनबाट जर्मनी आएका थिए ।