१५ चैत्र २०८०, बिहीबार
Follow Us

यसै आर्थिक बर्षमा मोटरसाइकल चोरीमा संलग्न १४ जना पक्राउ

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७७, सोमबार १८:२४

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई यस आर्थिक बर्षमा पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ ।

महाशाखाको पिडित सहायता ईकाइको विशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने विशेष अभियान संचालन गरिरहेको छ । महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरि सम्बन्धित धनिलाई जिम्मा दिएकोछ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले भने,“बिगत लामो समयदेखि मोटरसाईकल चोरी गर्ने पेसेवर गिरोहलाई निग्रानीमा राखि सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएका छौ, धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यका बाहिरका ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको छ, त्यस्ता बस्तीहरुमा समेत सुराकी परिचालन गरि सुचना संकलन गर्ने काम समेत भैरहेको छ ।”

आज मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रे तिमाल घर भई ललितपुर बस्ने बर्ष २५ का सुजन तामाङ्गलाई वास्तविक नम्बर प्र.३- ०२- ००१ प ९०४१ भइ प्र.३- ०२- ००३प६५०६ नंम्बर राखि चलाएको २२० सिसिको रातो कालो पल्सर सहित पक्राउ गरि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त मालीगाँउ पठाएको छ । उक्त मोटरसाइकल काठमाण्डौंस्थित सेतोपुलदेखि दश दिनअघि मात्र हराएको थियो ।

विशेषगरि काठमाण्डौका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरि राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ । सवारी धनिहरुले अतिरिक्त लक एव सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको देखिएको महाशाखाले जनाएको छ । मोटरसाइकल चोरी भएर उपत्यकामा नै किनबेच भएका र मोटरसाइकल चोरले नै नम्बर प्लेट परिवर्तन तथा सरसामान पार्टपुर्जा फेरेर नचिनिने गरि चलाउने गरेको पाइएको छ । त्यस्ता मोटरसाइकलहरुलाई विशेष संकेतको आधारमा पहिचान गरि पक्राउ गरिने गरेको महाशाखाले बताएको छ ।

प्रहरी निरीक्षक जितेश दाहालले भने, “हामीले पक्राउ गर्दा कतिपय अबस्थामा सम्बन्धित चालकलाई उसले चलाएको मोटरसाईकल चोरीको हो भन्ने समेत थाहा हुदैन, धेरै घटनामा सस्तोमा किनेको र पछि नामसारी गर्ने भनी अग्रिम केहि पैसा दिने गरेको भेटिन्छ ।” अधिकांश चोरी भएका मोटरसाइकलहरुको वास्तविक नम्बर परिवर्तन गरेको पाईन्छ भने कतिपय पक्राउ परेका मोटरसाइकलको नक्कली ब्लुबुक समेत हुनेगरेको दाहालले बताए ।