१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पुस १० गतेदेखि सिनेमा हल खोल्ने घोषणा

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७७, सोमबार ११:३५

काठमाडौं । नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि सिनेमा हल खोल्ने घोषणा गरेको छ । कोरोना संक्रमणका कारण गत चैत दखि बन्द रहेका सिनेमा हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय नभएपछि हल व्‍यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गरी पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् । ९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा बढी घाटा लागेको हल व्‍यवसायीको भनाइ छ ।

पुस १० गते हल खोल्दा सरकारले बन्द गराउन खोजेमा आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको चलचित्र संघले बताएको छ । हल खुले पनि अहिले नयाँ फिल्म भने प्रदर्शन हुने छैन । हलहरु पनि दर्शकको संख्याका आधारमा चलाउँदै जाने बताइएको छ ।

यता हल व्यवसायीले पनि चलचित्र क्षेत्रलाई कोरोना महामारीबाट अति प्रभावित व्यवसायमा राख्नुपर्ने, हल सञ्चालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज मिनाहा हुनपर्ने, मौद्रिक नीतिले दिएका सुविधा चलचित्र व्यवसायले पनि पाउनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने लगायत माग गरेका छन् ।