१३ बैशाख २०८१, बिहीबार
Follow Us

जीवा लामिछानेको ‘देश देशावर’ नियात्रा सर्वाधिक बिक्रीको सूचीमा

नेपालब्रिटेन डट कम्
५ पुष २०७७, आईतवार १५:४२

लण्डन । हरेक महिना गरिँदै आएको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा ‘देश देशावर’ले बाजी मारेको छ । तिहारपछाडि बजारमा आएको लेखक जीवा लामिछानेको पुस्तकले मंसिर महिनाभरि आधिपत्य जमाएको हो । नेपाली बजारमा दसैँ-तिहार वरपर पुस्तकको बिक्री उत्कर्षमा पुग्छ । तर दसैँ तिहारपछि पुस्तक बिक्रीलाई ‘देश देशावर’ले धानेको देशभरिबाट आएको रिपोर्टले देखाएको छ । सामाजिक सञ्जालहरुमा ‘देश देशावर’को चर्को प्रचार भएपछि काठमाडौँ उपत्यकामा देखिएको उछाल बिस्तारै देशका अन्य सहरहरुमा पनि देखिएको थियो । काठमाडौँ, चितवन, पोखरा, बुटवल र इटहरीमा ‘देश देशावर’ मंसिर महिनाभरि एक वा दुई नम्बरमा रह्यो । अन्य पुस्तक किन्न बजार गएका पाठकहरुले पनि ‘देश देशावर’लाई खरिद गरको विक्रेताहरुले जनाएका छन् ।

साहित्यपोस्टले गएको अशोज महिनायता बेस्ट सेलर किताबहरुको सूची प्रकाशन गर्दै आएको छ । यसका लागि यस संस्थाले काठमाडौँ उपत्यकाका २०, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० वटा स्टेसनलाई बेस्टसेलर बुकको सूचीलाई आधार बनाइरहेको छ । जसअनुसार असोज र कात्तिक महिनामा मदन पुरस्कार विजेता ‘महारानी’ले बजारमा आफ्नो पकड जमाएको थियो । मंसिर महिनामा भने चन्द्रप्रकाश बानियाँको यो उपन्यास आठौँ स्थानमा झरेको छ । देशभरिबाट आएको रिपोर्टअनुसार असोज र कात्तिक महिनामा ठूलो संख्यामा ‘महारानी’ किताब बिक्री भएका कारण पनि यसको बिक्री कम भएको हो ।

‘दसैँ र तिहारभरि ‘महारानी’ अत्यधिक बिक्री भयो, त्यसको असर मंसिर महिनामा देखिएको हो,’ सम्पूर्ण पुस्तक चितवनका लेखराम सापकोटा भन्छन्, ‘यति हुँदाहुँदै पनि ‘महारानी’ अहिले पनि फाट्टफुट्ट बिक्री भइरहेको छ ।’ सापकोटाको जस्तै अनुभव देशभरिका बिक्रेताहरुको पनि छ । नेपालमा निरन्तर किताब पढ्ने पाठकहरुको संख्या सानो भएका कारण पनि केही अपवादबाहेक एउटै पुस्तक धेरै बिक्री हुँदैन । तिनै पाठकले नयाँ पुस्तक खोज्ने गर्छन् । यिनै पाठकहरुले अहिले ‘देश देशावर’लाई रोजेका हुन् ।

यसअघि दोस्रो नम्बरमा परेको विजयकुमारको पुस्तक ‘सम्बन्धहरु’को बिक्री पनि सुस्ताएको छ । ‘सम्बन्धहरु’ लगातार दुई महिनासम्म दोस्रो नम्बरमा थियो तर मंसिर महिनामा ‘सम्बन्धहरु’ दोस्रोबाट झरेर पाँचौँ नम्बरमा पुगेको छ । यसपटक दोस्रो स्थानमा आहुतिको पुस्तक ‘जात वार्ता’ आइपुगेको छ । जात प्रथाको उन्मूलनका विषयमा राजनीतिक अभियान सञ्चालन गरिरहेका आहुति अहिले धेरै पढिने लेखकमध्ये पर्दछन् । नायक राजेश हमालले सञ्चालन गरेको टेलिभिजन टक सो विवादमा आएपछि पनि मानिसलाई जातसम्बन्धी विषयलाई विद्वान वर्गले चासोपूर्वक हेरेका छन् । जसलाई ‘जातवार्ता’ पुस्तकको बिक्रीले पनि पुष्टि गरेको देखिन्छ ।

विकसित देशहरुमा धेरै पुस्तक पढिने भएकाले त्यहाँका पत्रिकाहरुले हरेक साता बढी बिक्री हुने किताबहरुको सूची सार्वजनिक गर्दै आएका छन् । तीमध्ये सबैभन्दा अमेरिकाको न्युयोर्क टाइम्स र बेलायतको सन्डे टाइम्सको सूची बढी विश्वसनीय मानिन्छ । नेपालमा पनि त्यस किसिमको सुरुवात गोरखापत्रले २०४१ सालमा सुरु गरेको थियो । त्यस बेला न्युरोडको पिपलबोटमा बिक्री भएका किताबको आधारमा उक्त सूची प्रकाशन हुन्थ्यो । पछि पिपलबोटबाहेक अन्य स्थानमा पनि पुस्तक बिक्री हुन थालेपछि त्यो सूचीमा गडबडी हुन थाल्यो ।

त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको अभ्यास नै गरेन । धेरैपछि अंग्रेजी पत्रिका द काठमाडौँ पोस्टले हरेक आइतबार यस किसिमको सूची प्रकाशन गर्न थालेको थियो । तर नेपालमा पुस्तक बिक्रीको संख्या निकै थोरै भएकाले हरेक साता यस्तो सूची प्रकाशन गर्न गाह्रो भएपछि यो बन्द भयो । साहित्यपोस्टले पनि सुरुमा साप्ताहिक रुपमा यस्तो सूची निकाल्ने योजना बनाएको थियो तर नेपालभरि सातामा एक हजार पुस्तक पनि बिक्री नहुने थाहा भएपछि यसलाई एक महिनामा गर्ने योजना बनाएको हो । यसै नीतिअनुसार यसपटक साहित्यपोस्टले तेस्रो महिनाको सूची प्रकाशन गरेको हो ।
सफल व्यवसायी एवं लेखक जीवा लामिछानेको एक महिनाअघि बजारमा आएको पुस्तक ‘देश देशावर’ साहित्यपोस्ट बेस्ट सेलर सूचीमा प्रथम भएको छ । मंसिर महिनाभरि बिक्री भएका पुस्तकहरुका आधारमा यो पुस्तकले देशभरिबाट बिक्रीका आधारमा पहिलो भएको हो । काठमाडौँ उपत्यकाका २० वटा स्टेसन, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० गरी ३१ वटा स्टेसनलाई आधार मानेर हेर्दा यो पुस्तकले प्रथम स्थान हासिल गरेको हो ।