September 19, 2021
12:41 AM | 5:26 AM
डायस्पोरा

‘सम्झनामा गोपाल दाई’

  19/01/2021 मा प्रकाशित

हेम राज शर्मा ।

गोपाल (आचार्य) दाई ! अब यस संसारमा रहेनन् । उनको र मेरो सहयात्रा २०४६ मा त्रिचन्द्र क्याम्पस पढ्दादेखि हो । बागबजारमा एउटै घरमा बसिन्थ्यो । पर्वत कुश्मामा पुर्खौली घर भई भारतको गुवाटीमा हुर्केको गोपाल दाई र बाग्लुङको पहाडमा हुर्केको म बीच धेरै कुरामा अन्तर थियो हामी ठाक्कै विपरीतप्राय: । तर पनि हामी आत्मिय थियौँ । मिठो खाने र राम्रो लगाउने सौख थियो उनमा । ब्राण्ड भने पछि हुरुक्क । जुत्ता, घडी, कपडा, ब्राण्डेड चाहिने । सकेसम्म खोजी -खोजी लगाउने । बजारमा आएको नयाँ कुरा सबैभन्दा पहिले उनलाई चाहिन्थ्यो । कोठा सफा राख्ने, पुराना हिन्दी गीत संगित सुन्ने, बहुत रसिक स्वभावका । कुस्ति खेल्न मन पराउँथ्यौ हामी। उनलाई फेरि शरीरले पनि साथ दिएको थियो, खाइलाग्दा, बलिया । किशोर कुमार, लतामंगेश्वरका सबै गीतका क्यासेट थिए उनको साथमा ।अहो! त्यो ताका क्यासेट हुनु भनेको निकै ठुलो कुरा थियो ।

म चै गोपाल दाईभन्दा सबै कुरामा ठाक्कै विपरीत ।खासै सौखिन होइन, सामान्य खानाका परिकारले पनि म मख्ख पर्थे, काम चलाउ कपडाले भए नि पुग्थ्यो । हिन्दी म त्यती बुझ्दिनथे तर लोकगीतको पारखी ।
संगले रंग सर्ने रैछ, गोपाल दाइको संगतले ममा केही कुरामा परिवर्तन आयो । गोपाल दाइ तिमीलाई याद छ है, घरको भुईतलामा बब्लुको पसलको चिया समोसा खाँदै किशोर कुमार, लतामंगेश्वरका गीत ऊसँगै गाएको । गीतमा प्रत्येक शब्दको अर्थ सिकाउँथ्यो उसले । त्यहीबेला देखि त हो नि हिन्दी गीत सुन्ने बानी परेको । गोपाल दाइकै सुझावमा हिलटेक जुत्ता, सिटिजन घडी किनेको आज नि मानसपटलमा छ । (मैले किनेको ‘घडी’ को बारे एउटा छुट्टै लेख लेखेको छु ।)

सोचेको र चाहेको कुरा जसरी पनि प्राप्त गर्ने बानी थियो गोपाल दाइमा । सृजना भाउजुलाई क्याम्पसमा देख्ने बित्तिकै मन पराएको रहेछ । भाउजुको लागि यती क्रेजी थिए कि उनी – क्याम्पसमा भर्ना हुँदा भरेको फारामबाट भाउजुको फोटो निकालेर वालेटमा राखेको थियो । फोटो हेर्दै उहाँको कल्पनामा घण्टौं बिताउन सक्ने तर आफ्नो मनको कुरा उहाँलाई भन्न नसक्ने । आखिर वर्षौ पछि नै सहि भाउजुलाई पाएको दिन कति प्रफुल्ल थिए उनी । कतिसम्म भने मन परेको सामान छ भने उनी नसोधी उडाइदिन्थे, बिचारा हामी खोजेको खोज्यै हुन्थ्यौ ।

सामाजिक काममा उनको रुची थियो । पछि विद्यार्थी राजनीतिमा पनि उनी होमिए। त्रिचन्द्र क्याम्पसको स्ववियुको उपाध्यक्ष थिए, किशोर राठौर अध्यक्ष हुँदा । एउटा घटनाको सम्झना अझै ताजा छ । स्ववियु निर्वाचनमा उपाध्यक्षको मनोनयनको समय थियो । मनोनयन दर्ता रोक्न उनलाई विपक्षहरुले क्याम्पस छिर्न नदिने योजना बनाए। जमल स्थित पार्टी कार्यलयमा सुरक्षाको लागि बसेका थिए उनी । उनलाई क्याम्पसमा ल्याउने जिम्मा मलाई लगाइयो, सुरक्षाको ग्यारेन्टिसहित । तर उनी क्याम्पसमा प्रवेश गर्ने बित्तिकै विपक्षीहरु जाई लागि हाले । पछि रत्नपार्कको पुलिस चौकीमा लगेर सुरक्षित गरियो । त्योताका हामी बस्ने बागबजारको घर राजनीतिक अड्डा जस्तो बनेको थियो । विद्यार्थी नेताको ओइरो लाग्थ्यो ।

क्याम्पस सकेपछि म विदेश लागेँ, गोपाल दाइ भने नेपालमा व्यापार व्यवसायमा लागे । विदेशबाट फर्किदा म उनलाई भेट्थेँ । यात्रामा बहुत रुची थियो उनको । पढेको भरमा कुनै ठाउँको वर्णन यसरी गर्न सक्थे कि मानौँ साच्चिँकै उनले त्यस ठाउँको भ्रमण गरेका छन् । मैले १ वर्ष ईटालीमा बिताएपछि नेपालमा उनलाई भेटेको थिएँ । उनले ईटालीको भेनिस शहरको भ्रमण गरेको तर समय नभएर मलाई भेटन नसकेको कुरा सुनाए । मैले देखेको भेनिस र उनले वर्णन गरेको भेनिसमा कुनै फरक थिएन । काल्पनिक विषयलाई यथार्थ जस्तै प्रस्तुत गर्ने उनको गजबको कला थियो ।
घुम्दै म बेलायत आएँ । जोग सन्जोग पनि अजिबको है गोपाल दाई पनि बेलायत आइपुगे । आउने, जाने बाक्लै थियो । घरमा पाहुला बोलाउने, खुवाउने पिलाउने कुरामा खुव सौखिन थिए । म मात्रै किन मेरो छोराहरु पनि उनकोमा जान औधी मन पराउँथे । बच्चाहरुलाई के खाना मन पर्छ पहिले नै सोधपुछ गरेर खाना तयार हुन्थ्यो । नेपालमा उनको छोरा शुभुको ब्रतबन्ध हुँदा म पनि पुगेको थिएँ । तर मेरो छोराको ब्रतबन्धमा उनलाई निम्ता गर्ने मेरो बाचा अधुरो रह्यो ।

उनको सम्पत्ति भनेकै साथी भाइ थिए । मलाई गैरआवासीय नेपाली संघको महासचिवमा जिताउन उनले ठुलो योगदान गरेका थिए । दुर्भाग्य पनि कस्तो महासचिव भएपछि दाइलाई भेटेर धन्यवाद दिन पनि पाइन ।
फोनमा घण्टौँ कुरा गर्न मन पराउँथे तर पछिल्लो समयमा केही व्यस्तता र कोभिडको चपेटाले फोनमा पनि पातलो सम्पर्क हुन थालेको थियो हाम्रो ।

मृत्यु शाश्वत सत्य हो । तर गोपाल दाइ तिम्रो मृत्यु स्वीकार्न सकिरहेको छैन मैले । तिमीलाई दाइ भनेर सम्बोधन गरेपनि, तिमी मभन्दा एक दुई साल ठुलो भए पनि, तिमी मेरो आत्मीय मित्र थियौ र रहिरहने छौं । तिम्रो कमि कसैले पुर्ति गर्न सके छैन । तिमी जहाँ छौँ खुसी र त्यही अब्बल शान सहित बस है । धेरै माया र सम्झनासहित ।

(आचार्यको गतसात कलेजोको समस्याका कारणले लन्डनमा निधन भएको हो)

स्रोत : फेसबुक

प्रतिक्रिया