१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्यान्चेस्टर युनाइटेडद्वारा टोटनह्याम पराजित

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७७, सोमबार ०५:४३

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड, आर्सनल, वेष्ट ह्याम युनाईटेड र न्यूकासल युनाईटेड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरलाई ३–१ ले हरायो ।

टोटनह्यामलाई उसैको मैदानमा पराजित गर्न म्यान्चेस्टर युनाइटेडका फ्रेड, एडिन्सन काभानी र मेसन ग्रिनउडले एक एक गोल गरे । टोटनह्यामका ह्युङ मिन सनले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ३–० ले हरायो ।

आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट्ले दुई गोल गर्दा ग्याब्रियल मार्टीनेलीले एक गोल थपे । गएराति भएका अन्य खेलहरुमा वेष्ट ह्याम युनाइटेडले लेष्टर सिटीलाई ३–२ ले हराउँदा न्यूकासल युनाइटेडले बर्न्लेमाथि २–१ को जित निकाल्यो ।

गएरातिका खेलहरुपपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा ३२ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ६३ अंकसहित दोस्रो स्थानमा रहँदा ५६ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा छ । चौथो स्थानको वेष्ट ह्याम युनाइटेडको ५५ अंक छ भने ५४ अंकका साथ चेल्सी पाँचाै‌ स्थानमा झरेको छ ।