६ बैशाख २०८१, बिहीबार
Follow Us

हाकिमको घरमा भात पकाउँदै अनुसन्धानका कर्मचारी

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार ०३:५७

काठमाडौं । राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका कर्मचारीहरू हाकिमको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएका छन्। सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरूले गुप्तचरहरूलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ।
विभागका कर्मचारीलाई सूचना संकलनबाहेक अन्य कुनै पनि काममा पठाउने प्रावधान छैन। तर, सोर्सफोर्स र दबाबका भरमा उनीहरूलाई अनुसन्धान विभागबाट तलब दिएर हाकिमहरूको घरमा कामदारका रूपमा खटाइने गरेको छ।
विभागको प्रमुखबाट देवीराम शर्माले अवकाश पाएको आठ वर्ष भइसकेको छ। तर, उनको घरमा रामनाथ चौधरी घरेलु कामदारका रूपमा कार्यरत छन्। सिपाहीदेखि नै शर्माको घरमा बसेका चौधरी सइमा बढुवा भइसकेका छन्। उनको जिम्मेवारी शर्माको घरमा घरेलु कामदारकै रूपमा सीमित छ। आफ्नो घरमा बसे पनि सइ चौधरीले विभागमा कामसमेत गर्दै गरेको शर्माको दाबी छ। स्रोतका अनुसार कार्यालयमा हाजिर गरेको देखाएर उनले चौधरीलाई घरमा काम लगाउँदै आएका छन्। चौधरीजस्तै विभागमा धेरैजना सरकारको तलब लिएर नेता–हाकिमहरूको घरमा काम गर्दै आएका छन्।
विभागमा गत वर्षसम्म सोर्सफोर्स र आर्थिक चलखेलका आधारमा कर्मचारी नियुक्ति हुँदै आएको थियो। नयाँ संविधानले विभागमा कर्मचारी नियुक्तिमा लोकसेवा आयोगको प्रतिनिधित्व अनिवार्य प्रतिनिधित्वको र सहमतिको व्यवस्था कायम गरेपछि सोर्सफोर्सका आधारमा नियुक्ति बन्द भएको छ। विगतमा विभागमा राजनीतिक हस्तक्षेप हुने गरेकाले कर्मचारीहरूको अहिलेसम्म दुरुपयोग भएको हो।
राजनीतिक दलका धेरै नेताहरूको घरमा गुप्तचरका कर्मचारीहरू कार्यरत छन्। नेताहरूले शक्तिको प्रयोग गरी आफ्ना कार्यकर्तालाई अनुसन्धानमा कर्मचारी भर्ना गर्ने गरेका छन्। विभागबाट तलब दिलाएर दलका नेताहरूले उनीहरूलाई आफ्नो घरमा काम गराउँदै आएका छन्।
राष्ट्रिय अनुसन्धान विभागको विशेष सेवा नियमावलीमा नेता तथा हाकिमहरूले आफ्नो कर्मचारीलाई खटाउने कुनै प्रावधान छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष कार्यविधि बनाएर अवकाशप्राप्त एआइजीहरूलाई परिचरको सुविधा खटाउँदै आएका छन्। तर, अनुसन्धान विभागमा त्यस्तो कुनै प्रावधान छैन। सोर्सफोर्सका आधारमा ५० भन्दा धेरै कर्मचारी सरकारको तलबमा नेता र हाकिमहरूको घरमा काम गर्दै आएका छन्। करिब तीन हजार जनशक्ति रहेको राष्ट्रिय अनुसन्धान विभागमा धेरै जनशक्तिको दुरुपयोग हुँदै आएको छ।
विभागमा अधिकांश राजनीतिक सोर्सफोर्सका आधारमा भर्ना भएकाले उनीहरूले आफूअनुकूल र धेरैले गृहजिल्लामा सरुवा मिलाएका छन्। जहाँ उनीहरू कार्यालयमा हाजिर गरेर आफ्ना व्यवसायलगायत अन्य काममा लाग्ने गरेका छन्। निवर्तमान गृहमन्त्री शक्ति बस्नेतले गत वर्ष संसद्को राज्यव्यवस्था समितिमा विभागका अधिकारीहरूले आफूले चाहेअनुसार सरुवा गर्न सके धेरै सुधार हुने बताएका थिए। तर, नेताहरूको दबाबका कारण विभागका कर्मचारीलाई सरुवा गर्न नसकिएको उनको भनाइ थियो।
स्रोतका अनुसार विभागका प्रमुख दिलीप रेग्मी र एआइजीहरूले समेत तल्लो तहका कर्मचारीलाई आफ्नो घरमा काम लगाउँदै आएका छन्। अनुसन्धान विभागका पूर्वप्रमुख मोती गुरुङको घरमा विभागका दुईजना कर्मचारी काम गर्दछन्। यसैगरी, पूर्वप्रमुख हरिबाबु चौधरी, गोविन्द थापा, विष्णुराज पन्त, अशोकदेव भट्टको घरमा पनि एक–एकजना अनुन्धानका कर्मचारी घरेलु कामदारका रूपमा कार्यरत छन्। पूर्वडिआइजी सुखचन्द्र झाको घरमा दुईजना कर्मचारी कार्यरत रहेको स्रोत बताउँछ। झा मधेस छानबिन आयोगको सदस्य हुन्।
गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले घरेलु कामदारका रूपमा काम गरेकोबारे आफूलाई जानकारी नभएको बताए। विभागका प्रमुख दिलीप रेग्मीले अवकाशप्राप्त प्रमुखहरूलाई सहयोगीको सुविधा नभएको बताए। यद्यपि, एक–दुईजना कर्मचारी कसैको घरमा खटिएको हुनसक्ने उनले स्विकारे।
-नयाँ पत्रिकाबाट