१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७८, बुधबार ०६:१७

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले हराउँदै म्यान सिटी समग्रमा ४–१ को नतिजासहित फाइनलमा पुगेको हो ।

यसअघि पिएसजीको मैदानमा भएको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी २–१ ले विजयी भएको थियो । गएरातिको खेलमा म्यान सिटीलाई विजयी गराउन दुबै गोल अल्जेरियन खेलाडी रियाद माहारेजले गरे ।

जारी सिजनको इंग्लीश प्रियिमर लिगमा समेत शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई स्पेनिस प्रशिक्षक पेप ग्वार्डीयोलाले च्याम्पियन्स लिगको फाइनलमा पु-याएका हुन् ।

म्यान सिटीले अब फाइनलमा इंग्ल्याण्डकै चेल्सी वा स्पेनको रियाल मड्रिडमध्ये एक टोलीसँग खेल्नेछ । सेमिफाइनल दोस्रो लेगको खेलमा आज राती चेल्सी र रियाल मड्रिड भिड्नेछन् । रियाल मड्रिडको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।