८ बैशाख २०८१, शनिबार
Follow Us

विनियोजन विधेयकमाथिको छलफल सकियो

नेपालब्रिटेन डट कम्
२२ असार २०७३, बुधबार १४:१२

काठमाडौं । व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । विनियोजन विधेयकमाथिको छलफल सकिएसँगै आजदेखि छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका सार्वजनिक गरिएको हो ।

संसद् सचिवालयका अनुसार आज वाणिज्य, विज्ञान तथा प्रविधि, जनसंख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, आपूर्ति, सामान्य प्रशासन, पशुपक्षी विकास, सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार र कृषि मन्त्रालयमाथि उठाइएका प्रश्नको मन्त्रीले जवाफ दिने छन् ।

असार ६ गतेदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ अनुदान दिनुपर्ने माग राखेर संसद् बैठक अवरुद्ध गरेका कारण केही दिन पर धकेलिएको थियो । मन्त्रीहरुले जवाफ दिएपछि आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरिएको बजेट पारित गर्ने तयारी छ । वर्तमान सरकारले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेको थियो ।