६ बैशाख २०८१, बिहीबार
Follow Us

च्याम्पियन्स लिगको उपाधिका लागि सिटी र चेल्सी भिड्ने

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७८, शनिबार ०५:०६

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनल खेल आज हुँदैछ । उपाधिका लागि दुई इंग्लीश टोलीहरु म्यान्चेस्टर सिटी र चेल्सी भिड्ने छन् । खेल पोर्चुगलको पोर्टो शहरमा नेपाली समय अनुसार आज राती पौने १ बजे सुरु हुनेछ । इंग्लीश च्याम्पियन म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेको छ ।

विश्व फुटबलका सफल प्रशिक्षक पेप ग्वार्डीयोलाको प्रशिक्षणमा रहेको सिटी आज आफ्नो पूर्ण क्षमताको साथ मैदानमा उत्रनेछ । उता चेल्सीका लागि यो दोस्रो उपाधिको अवसर बन्नेछ । जर्मन प्रशिक्षक थोमस टुकेलको प्रशिक्षणमा चेल्सीले पछिल्लो समय सानदार प्रदर्शन गरिरहेको छ ।

चेल्सीले यसअघि सन् २०१२ मा च्याम्पियन्स लिग जितेको थियो । यो सिजन घरेलु प्रतियोगिता एफ.ए कप र प्रिमियर लिगमा चेल्सीले दुई पटक म्यानचेस्टर सिटीलाई हराएको छ । तर आजको खेल भने उसका लागि सहज हुनेछैन । यो फाईनल खेललाई सिटीका युवा स्टार फिल फोडेन र चेल्सीका युवा स्टार मेसन माउन्टको भिडन्तको रुपमा पनि हेरिएको छ ।

फाईनल खेल हेर्न १६ हजार ५ सय दर्शकलाई अनुमति दिईएको छ । सेमिफाईनलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै म्यान्चेस्टर सिटी तथा स्पेनको रियाल मड्रिडलाई हराउँदै चेल्सी फाईनलमा पुगेको हो ।