१३ बैशाख २०८१, बिहीबार
Follow Us

२९ वर्षपछि डेनमार्क पहिलो पटक सेमिफाइनलमा

नेपालब्रिटेन संवाददाता
२० असार २०७८, आईतवार ०६:३९

लन्डन । युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ वटा सहरमा भइरहेको १६औं संस्करणको युरोकप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । युरोकपमा सेमिफाइनलका खेलहरु जुलाइ ७ बाट शुरु हुँदैछ ।

रोममा गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४(० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ

शनिबार राति नै भएको अर्को खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो । डेनमार्कले खेलको पाँचौँ मिनेटमा थोमस डेलानेले गरेको गोलसँगै अग्रता लिएको थियो ।

डेनमार्कले पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा कास्पर डोलबर्गको गोलसँगै अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा २(० ले पछि परेको चेक टोलीले दोस्रो हाफ सुरुआत भएको ४ मिनेट नबित्दै एक गोल फर्कायो । फरवार्ड प्याट्रिक शिकले ४९औं मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काएका थिए । तर, थप गोल गर्न नसक्दा डेनमार्कले २-१ को अग्रता जोगाउँदै २९ वर्षपछि अन्तिम ४ मा स्थान सुरक्षित गर्‍यो । अब डेनमार्कले सेमिफाइनलमा इङ्ल्यान्डसँग खेल्ने छ ।